१० दिन ढिला गरेर नेपालबाट बाहिरियो मनसुन

by समतल अनलाइन

काठमाडौँ । नेपालबाट १० दिन ढिला गरेर मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यस पटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाडौँ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।

आज बाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समय भन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो । यसैबीच, दशैँको मुख्य दिन आज कोशी प्रदेशको एक÷दुई ठाउँमा पानी पर्न सक्ने सम्भावना रहे पनि बाँकी अरु ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी भेगका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि अरु क्षेत्रमा वर्षाको सम्भावना भने नरहेको मौसमविद् राजु प्रधानाङ्गाले जानकारी दिएका छन् । स्थानीय वायुका कारण कतै कतै भने छिटफुट वर्षा हुने सम्भावना छ ।

 
 
  
 

You may also like