तिलोत्तमाको प्रगति: अघिल्लो आ.व.को तुलनामा २२ करोड बढी आन्तरीक आम्दानी

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा आन्तरीक श्रोतबाट अघिल्लो आर्थिक वर्षको भन्दा करिव २२ करोड बढी राजश्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ३१ करोड ८५ लाख ४७ हजार राजश्व संकलन गरेको नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा ४३ करोड ४४ लाख १३ हजार रुपैया राजश्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा आन्तरीक श्रोतबाट ५२ करोड ८ लाख ४० हजार रुपैया राजश्व संकलन हुने अनुमान गरेको थियो ।
नगरपालिकाका राजश्व शाखाका प्रमुख इन्द्रदत्त सापकोटाका अनुसार नगरपालिको करिव एक तिहाई कर प्राकृतिक श्रोत व्यवस्थापन अर्थात नदीजन्य पदार्थ बालु गिट्टी उत्खनन तथा नियमनबाट उठेको छ । यस शिर्षकबाट १७ करोड ७१ लख २६ हजार रुपैया संकलन भएको छ ।
नदीजन्य पदार्थको उत्खनन पछी सम्पत्ति कर, घर नक्सा पास दस्तुर, घरबाटो प्रमाणित दस्तुर, व्यवसाय कर, शिफारिस दस्तुर र बहाल करबाट उठेको छ । सम्पत्ति करबाट ३ करोड ४५ लाख २१ हजार,घर नक्सा पासबाट २ करोड ६३ लाख ३ हजार, बाटोघाटो प्रमाणितबाट २ करोड ४९ लाख ५६ हजार, व्यवसाय करबाट १ करोड ६२ लाख ६६ हजार,शिफारिस शुल्कबाट १ रोड ३२ लाख ८१ हजार र बहाल करबाट १ करोड २ लाख ४० हजार रुपैया संकलन भएको राजश्व शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो । अन्य रकम हाट बजार कर, बिज्ञापन कर, घटना दर्ता लगायतका शिर्षकबाट उठेको छ ।
तिलोत्तमा नगरपालिकाले गत आर्थिक वर्षमा ९ करोड ८८ लाख ८५ हजार रुपैया मालपोत रजिष्टेशन बाडफाडबाट प्राप्त गरेको छ ।
गत आर्थिक वर्षको बजेटमा नगरपालिकाले बिभिन्न शिर्षकमा कर बढाएपछी नेपाली काग्रेस, राष्टिय जनमुक्ति पार्टी लगायत बिरोधमा उत्रिएका थिए । दलहरुको बिरोधपछी नगरपालिकाले करको दर केही घटाएको थियो ।

 
 
  
 

You may also like