दलहरु मिलेर अघि बढ्नुपर्ने मंसिरको निर्वाचनको सन्देश हो : सुवास नेम्वाङ

by समतल अनलाइन

काठमाडौँ । नेकपा एमालेका सांसद सुवास नेम्वाङले मंसिर ४ को निर्वाचनबाट जनताले लोकतन्त्रको मूल्य र मान्यताअनुसार मिलेर अघि बढ्ने जनादेश दिएको बताएका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारु दलबाट सभामुखका उम्मेदवार देवराज घिमिरले भोट माग्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘चुनावमार्फत् दलहरुलाई स्वस्थ्य प्रतिस्पर्धामा लोकतन्त्रको मूल्य र मान्यता बमोजिम मिलेर अगाडि बढ्न जनताको स्पष्ट सन्देश छ, त्यहीअनुसार संसदमा क्रियाशील हुन हामी यो ठाउँमा आइपुगेका छौं’, उनले भने, ’यो आधारमा हामी प्रतिनिधि सभाको नेता चयन गर्ने प्रक्रियामा छौँ । यसले जवाफदेहिता र पारदर्शिता स्थापित गर्नुपर्छ। सरकारलाई उत्तरदायी बनाउनुपर्ने चुनौती छ । चुनौति र अवसरको संघारमा उभिएका छौं ।’

उनले संसदमा आफूले सदा सर्वदा सकारात्मक कुरा गर्ने पनि बताए । ‘प्रतिनिधि सभा आफ्नो जिम्मेवारी पूरा गर्न सफल हुन्छ भन्ने विश्वास छ’, उनले भने, ’त्यसका लागि सिंगो प्रतिनिधि सभालाई एकताबद्ध बनाएर सांसदहरुको विश्वास जितेर एकजुट बनाई अगाडि बढ्न निष्पक्ष सभामुख चाहिन्छ । माननीय देवराज घिमिरेले यो भूमिका पूरा गर्न सक्नु हुन्छ ।’

उनले घिमिरेले प्रतिनिधि सभाको निष्पक्ष रेफ्रीको भूमिका निभाउन सक्ने पनि बताए । ‘संविधान र नियम बमोजिम सभामुख निर्वाचन गरियोस् भन्ने प्रस्ताव राख्छु’, उनले भने, ‘सबैलाई सहयोग गर्न आग्रह गर्छु ।’

 
 
  
 

You may also like