ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोज्दै छन् : विश्वप्रकाश शर्मा

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको आरोप लगाएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्ध्रृत गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसले ‘ढोक्सा थाप्न खोजेको’ भनेको भन्दै उनले आफ्नो पार्टीले ढोक्सा थाप्न खोजेको नभई प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको बताए ।

‘सदनमा प्रधानमन्त्रीलाई काम गर्नका लागि बलियो आधार बनोस् भनेर विश्वासको मत दिनु ढोक्सा थाप्नु होइन’, शर्माले बिहीबार प्रतिनिधिसभा बैठकमा भने, ‘बरु, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि प्रश्न उठाउनु र ढोक्सा थापियो भन्नु प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास हो ।’

उनले प्रधानमन्त्रीलाई पिँजडमा राख्न खोज्नु गलत भएको बताएका छन् । ‘हिजो आफू प्रधानमन्त्री हुँदा उच्चस्तरीय राजनरीतिक संयन्त्रलाई संविधानले नचिनेको निकाय बन्दैन भन्ने केपी शर्मा ओली आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा संयन्त्रको संयोजक बन्नु भएको छ’, शर्माले थपे, ‘आफू हुँदा एउटा कुरा गर्ने र अरू प्रधानमन्त्री हुँदा आफैले गलत भनेका काम गर्ने कुरा स्वाभाविक छैन । त्यसमा पनि विश्वासको मत दिनेमाथिका टिप्पणीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको पुष्टि हुन्छ ।’

 
 
  
 

You may also like