उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता

by समतल अनलाइन

काठमाडौं ।निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी आयोगले बिहीबार उम्मेदवार मनोनयनपत्र दर्तालगायत उपनिर्वाचनको आवश्यक तयारी पूरा भएको जनाएको हो ।

आउँदो मंसिर १४ गते विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानहरुमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन सम्पन्न गर्न असोज १५ गते आयोगबाट स्वीकृत भएको कार्यक्रमअनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।

कार्यक्रमअनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यस्तै, स्थानीय तहका सदस्य पदका लागि कात्तिक २७ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र कात्तिक ३० गते साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

स्थानीय तहका सदस्यका उम्मेदवारहरुलाई मंसिर १ गते अपराह्न ४ बजेसम्म निर्वाचन चिह्न दिने कार्यतालिका रहेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनबाट मुलुकको निर्वाचन प्रणालीमा केही सुधार भएको संकेत देखिने बताए ।

उपनिर्वाचनमा जम्मा १०१ राजनीतिक दलले भाग लिनसक्ने गरी आयोगले राजनीतिक दल र निर्वाचन चिह्न वितरण सार्वजनिक गरिसकेको छ । जसमध्ये प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिन सक्नेछन् ।

उपनिर्वाचनमा सहभागी हुने मतदाताको संख्या चार लाख ५४ हजार ११४ रहेको छ । मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा सन्चालन गर्दैछ ।

मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न तोकिएको समयमा मतदाताले आयोगबाट जारी परिचयपत्र अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि ३७ मुख्य निर्वाचन अधिकृत र ११ जना निर्वाचन अधिकृत तोकेको छ । यस्तै, उपनिर्वाचन प्रयोजनका लागि २०७४ सालमा सम्पन्न निर्वाचनमा निर्धारण गरिएको मापदन्डअनुसार नै खर्चको सीमा निर्धारण गरिएको छ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ ।

 
 
  
 

You may also like