राष्ट्रभक्ति गीत ‘नेपालको जयहोस्’ को छायांकन बुटवलमा

by समतल अनलाइन

बुटवल । मुलुक र जनताको बर्तमान अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै स्वतन्त्र नागरिक समूह नेपाल नामक संस्थाले राष्ट्रभक्ति गीत ‘नेपालको जयहोस‘् भन्ने गीतको छायाकंन गरेको छ । रुपन्देहीको बुटवल र आसपासका क्षेत्रका छायांकन गरिएको सो गीतले आम जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने उद्देश्यका साथ उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाउन लागेको बताइएको छ ।

गत शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरमा शुभमुहर्त गरिएको र सोही मन्दिरबाट शुभसाइत जुराएर छायाकंन शुभारम्भ गरेको स्वतन्त्र नागरिक समूह नेपालले जनाएको छ ।उक्त गीतको शुक्रबार नै तिलोत्तमाको गीर्वाण माध्यामिक विद्यालय र शंकरनगरको वनवाटिकामा पनि छायाकंन गरिएको समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् । त्यस्तै पुस १६ गते शनिबार गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा पनि छायाकंन गरिने समुहका महासचिव केसीले जानकारी गराएका छन् ।

राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावनालाई नेपाली जनसमुदायमाथि प्रस्तुत गरी राष्ट्रको राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, देशभक्ति आन्दोलनको सवालमा एउटा इट्टा थप्न सक्ने विश्वाससहित गीत छायांकन गर्न लागिएको समुहका अध्यक्ष विश्वराज गैरेले जानकारी गराए ।
चर्चित नृत्य निर्देशक कमल राईको निर्देशन, फिल्म निर्देशक तथा छाँयाकार शिव ढकालको छायांकन, अनिल पहाडीको सहयोग र स्वतन्त्र नागरिक समुहको लगानी रहेको सो गीतमा स्थानिय कलाकारहरुको बाहुल्यता रहेको छ । पछिल्लो समय युवा पुस्तामा हराउदै गएको देशप्रेम र आम नेपालीले बिर्सिदै गएको जन्मभुमीलाई राष्ट्रपे्रमको भावनाले ओतप्रोत गर्ने लक्षका साथ सो गीत बजारमा ल्याउन लागिएको निर्देशक राईले बताए ।

कुल ६ मिनेट २० सेकेन्ड लामो सो गीतलाई छिट्टै छायांकन सकेर बिभिन्न माध्यमबाट बिश्वभर प्रदर्शन प्रदर्शन गरिने जानकारी गराउदै सो गीत छायांकनका लागि अत्याधुनिक क्यामेरा लगाएतका सामाग्री र उपकरणहरु प्रयोग गरिएको छाँयाकार शिव ढकालले बताए ।

 
 
  
 

You may also like