अध्यादेश ल्याउने निर्णय कानुनी, राजनीतिक र नैतिकरूपमा गलत : कांग्रेस महामन्त्री शर्मा

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले अध्यादेश ल्याउने सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको बताएका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

उक्त निर्णय गलत भएको बताउँदै महामन्त्री शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापतिलगायत सरकारको विरोध गरेका हुन् । आफू सडकमा हुँदा जुन रूपमा सत्ताको विरोध गरिन्थ्यो सोही अनुसार विरोध गरिएको उनको भनाइ छ ।

‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति !’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, ‘प्रधानमन्त्री ज्यू’ यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’ कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।

तर, अझै प्रधानमन्त्री हुने लालसा बोकेका प्रधानमन्त्री देउवाले भने गठबन्धनलाई बलियो बनाउन तथा आफ्नो पक्षमा सांसद संख्या बढाउन गम्भीर निर्णय लिएका हुन् । अझ काम चलाउ सरकारले गरेको गम्भीर र यो महत्वपूर्ण निर्णयको चौतर्फी आलोचना हुन थालेको छ ।

 
 
  
 

You may also like