भारतले लिपुलेक हडपेको नक्सा सार्वजनिक गरेपनि नेपाल सरकार मौन, तत्काल सर्वदलीय बैठक बोलाउन नेता भीम रावलको माग

by समतल अनलाइन

काठमाडौँ । पटक पटक नेपाली सीमा मिच्दै आएको भारतले पछिल्लो पटक दुई दिनअघि सार्वजनिक गरेको भारतको नक्सामा नेपालको कालापानी समेत आफ्नो भूभागमा पारेपछि नेपालमा खैलाबैला मच्चिएको छ । तर नेपाल सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पारेको तथ्य सार्ववजनिक भएपछि यसबारे नेपालका अधिकारीहरु अन्यौलमा परेका छन् ।

संसदको राज्य व्यवस्था समितिले यसबारे चासो व्यक्त गर्दै छलफलको एजेण्डा तय गरे पनि नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको हो । नापी विभागका सूचना अधिकारी दामोदर ढकालले अहिले नै यसबारे कुनै प्रतिक्रिया दिए हतार हुने बताउनुभयो ।

तर संसदको राज्य व्यवस्था समितिले भने यसबारे चासो दिँदै सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ । राज्य व्यवस्था समितिका सदस्य झपट रावलले आज समितिका सदस्यहरुबीच यसबारे अनौपचारिक छलफल भएको र अब सम्बन्धित मन्त्रालयसँग छलफल गरिने जानकारी दिनुभयो ।

भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गर्दै केन्द्र शासित दुई प्रान्तमा विभाजन गर्ने निर्णय औपचारिक रुपमा लागु गर्दै आइतबार देशको नयाँ नक्सा जारी गरेको थियो । जारी गरेको नक्सामा नेपालको लिपुलेकसहितको कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा पारेको छ ।

सत्तारुढ नेकपाका नेता भीम रावलले यसबारे नेपाल सरकारले तत्काल आफ्नो धारणा बाहिर ल्याउँदै भारतसँग कुटनीतिक माध्यममा कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा कुरा गरेर धारणा बनाउन तत्काल सर्वदलीय बैठक बोलाउन माग गर्नुभयो ।

सुगौली सन्धि हुँदा महाकाली नदीको मुख्य मुहान लिम्पिया धुरासम्म नेपालको भूभाग मानिए पनि विस्तारै भारतीय हस्तक्षेपले लिपुलेकसम्म नेपाली सीमा सीमित हुन पुगेको सीमा सम्बन्धीका जानकार हेमन्त सेडाइको भनाई छ । भारतको हेपाहा प्रबृत्तिले नेपालले आफ्नो भूभाग गुमाउँदै आएको उहाँ बताउनुहुन्छ ।

दार्चुला जिल्लाको कालापानी नेपाली भूमी भए पनि लामो समयदेखि भारतले आफ्नो सेना राख्दै आएको छ । र, त्यसलाई विवादित सीमा क्षेत्रका रुपमा लिइँदै आइएको छ ।

पटक पटक सीमा मिच्दै आएको भारतले औपचारिक रुपमै नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विषयलाई तत्काल सच्याउन नेपाल सरकारले भारतलाई बाध्य पार्नुपर्छ ।

 
 
  
 

You may also like