बैंकले ब्याज बृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले बिहीबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल ब्याज बृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उनले भने ।

मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाँणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिए । ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज बृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज बृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’

उद्योगी–व्यवसायीलाई व्यवसाय संचालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रबद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको बताउँदै गृहमन्त्री खाँणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’

गृहमन्त्री खाँणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताए । ‘हामीले मौद्रिक नीतिलाई सुधारमात्रै होइन्, परिमार्जन गर्नेछौं, आवश्यक परे संशोधन पनि गर्नेछौं’, उनले भने, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी–व्यवसायीलाई यो सरकार तपाईंहरुको पक्षमा छ, तपाईंहरुको समस्यालाई हल गर्न तयार भन्न चाहन्छु ।’

यस्तै, अर्को प्रशंगमा गृहमन्त्री खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताए । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको प्रष्ट्याए । खाँणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको जनाउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे । उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए ।

‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो’, खाँणले भने । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको बताए । ‘हामीले सीमाबासीलाई पर्ने हरेक समस्यामा साथ दिँदै आएका छौं, नेपाली काँग्रेस र गठबन्धन सरकार सधैं तपाईंहरुको साथमा छ, ढुक्क भएर नेपाली भूमिको रक्षा गर्नुस्, निर्धक्क भएर आफ्नो दैनिकी संचालन गर्नुस्’, उनले भने, ‘समस्या परे सरकारले सहयोग गर्छ, समाधान गर्छ, यहाँहरुको हीतका काम गर्छौं ।’

क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले मुलुकलाई प्रतिगमनतिर लैजाने की अग्रमनतिर भन्ने छिनोफानो गर्ने दिन मंसिर ४ भएको बताए । उनले संविधान, संघीयता र गणतन्त्रमाथि प्रहार गर्ने शक्तिहरुलाई उठ्नै नसक्ने गरी दण्डित गर्नुपर्ने जनाए । ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन र नेपाली काँग्रेसले जित्नु जरुरी छ’, उनले भने, ‘यदि गठबन्धनले हार्यो भने लोकतन्त्र र संविधान नै धरापमा पर्नेछ । प्रतिगमनकारीले यसलाई निरन्तर प्रहार गर्नेछन् । यसतर्फ हामी सचेत नागरिक चनाखो हुन जरुरी छ ।’

गुप्ता काँग्रेस प्रवेश

रुपन्देहीको तत्कालीन मैनहिया गाउँविकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रंगनाथ गुप्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । रुपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सियारी गाउँपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रममा पूर्व गाउँविकास समिति अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीका स्वागत गरे ।

गुप्ता २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष निर्वाचित भएका थिए । गत स्थानीय तह निर्वाचनमा गुप्ता लोसपाबाट उम्मेदवार थिए । यस्तै, कार्यक्रममा युवा व्यवसायी मोहित रौनियारसहित एक सय बढी स्थानीय विभिन्न पार्टी परित्याग री नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाँणले पार्टी सदस्यता प्रदान गरेका हुन् । पूर्व गाविस अध्यक्ष गुप्ताले पार्टीको विचार र सिद्धान्त मन परेकाले काँग्रेस प्रवेश गरेको जनाए । उनले रुपन्देहीको विकासका लागि गृहमन्त्री खाँणले जित्नै पर्ने बताए ।

 
 
  
 

You may also like