मुलुकको विकासका लागि पाँच दलीय गठबन्धनः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले लोकतन्त्र र संविधानको रक्षा, विकास र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास–निर्माणका लागि बनेको दावी गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका काँग्रेस केन्द्रिय सदस्य खाँणले आइतबार मायादेवी गाउँपालिका–८ मा आयोजित कार्यक्रममा बोल्दै जनताका लागि र मुलुकको विकासका लागि हातेमालो गरेर अघि बढीरहेको जिकिर गरे । ‘गठबन्धनले मुलुकलाई सही दिशामा लैजानुका साथै शान्ति र राजनीतिक स्थिरता कायम गर्छ’, उनले भने ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलहरुलाई सहयोग गर्न आग्रह गरे । निर्वाचनबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरी प्रतिनिधि चुन्ने भएकाले यसलाई विथोल्ने, हिंसा भड्काउने काम गर्न नहुने भन्दै उनले यस्ता कार्य रोक्न सरकार लागि परेको र केही समूह, राजनीतिक दलसँग छलफल समेत गरिरहेको बताउँदै असन्तुष्टिहरु सम्बोधन गर्दै सरकार अघि बढेको प्रष्ट्याए ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सीके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको उनले बताए । ‘ती दलले राखेका माग राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने जति तत्काल प्रक्रियामा लगिएको छ’, उनले भने, ‘यो निर्णय मन्त्रपरिषद् बैठकले गरिसकेको छ ।’ उनले यी राजनीतिक दलहरुलाई मूलधारमा ल्याई मुलुकमा शान्ति स्थापना गर्न कानुन संशोधन गर्नु पर्ने भएमा कानुन संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि स्पष्ट पारे । यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफूहरुसँग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।

स्थानीय निर्वाचनमा धेरै मत बदर भएको बताउँदै गृहमन्त्री खाँणले मतदाता शिक्षामा विशेष ध्यान दिन आग्रह गरे । ‘मतदाता शिक्षाको अभावमा मत बदर भयो, यसबाट जित्ने उम्मेदारले हार व्यहोर्नु पर्यो,’, उनले भने, ‘राजनीतिक दल र निर्वाचन आयोगले मतदाता शिक्षामा बढी ध्यान दिनुपर्छ ।’ गृहमन्त्री खाँणले पटक–पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन उचित नहुने पनि बताए । उनले त्यस्तालाई संसदमा पठाउँदा मुलुकमा शान्ति खलबलिने र अस्थिरता सिर्जना हुने जिकिर गरे ।

‘अब प्रतिगमन पक्षधरहरुलाई मतदाताले चिन्नुपर्ने पर्छ, तपाईं हामीलाई थाहा भएकै कुरा हो, जननिर्वाचित थलो संसद जसले दुई–दुई पटक भंग गरे, अहिले उनै फेरि हामीलाई मत दिनुस् र संसदमा पठाउनुस् भनिराखेका छन्, यस्तालाई यही बेला हो दण्डित गर्ने’, खाँणले भने । उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो भनेका हुन् । गृहमन्त्री खाँणले भने, ‘हात जोडेर हामीलाई मत दिनुस् भन्दै आउन संसद विघटन पक्षधरलाई कुनै हिच्किचाहट छैन, आफैले प्रहार गरेको संसदमा फेरि पठाउनुस् भनेर मतदातामा कसरी जानसक्नुभए होला ?’ उनले यस्ता नेता भएको विपक्षी गठबन्धनलाई जिताएर पठाए फेरि संसद भंग गर्नसक्ने भन्दै मतदाता सचेत हुनुपर्ने जनाए ।

‘उहाँ (ओली)ले कस्ता दलसित गठबन्धन गर्नुहुन्छ, हामीलाई थाहै छ’, उनले भने, ‘राजसंस्थाको वकालत गर्नेसँग गठजोड गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । उहाँले मुलुकमा शान्ति खल्बल्याउने र अस्थिरता ल्याउने मात्रै काम गर्नुभएको छ ।’ क्षेत्र नम्बर ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार लोसपाका सन्तोषकुमार पाण्डेयले पाँच दलीय गठबन्धनलाई जिताउन घरघर, गाउँ समाजबाट सबै जुट्न आग्रह गरे । उनले अहिले दुई गठबन्धनको लडाई भइरहेको जनाउँदै यसलाई महाभारतको पाण्डव र कौरवको लडाइँसँग तुलना गर्दै पाँच दलीय गठबन्धनले जित्नु पर्ने बताए ।

काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार योगेन्द्र चौधरी, काँग्रेस नेता तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार देवीप्रसाद चौधरी र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ का इन्चार्ज तिरबहादुर रोकामगर (डार्बिन) लगायतले बोल्दै अहिलेको गठबन्धन प्रतिगमनका विरुद्ध र संविधान, लोकतन्त्र, संघीयताको रक्षा एवं स्थायित्वको लागि भएको बताए ।

यादव कांग्रेस प्रवेश

जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराएका हुन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोधनमा प्रभाव भएका नेता मानिन्छन् । उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए ।

 
 
  
 

You may also like