जजिराले सुरुवात गर्‍यो भैरहवा–कुवेत दैनिक उडान

by समतल अनलाइन

भैरहवा ।जजिरा एयरलाइन्सले शुक्रवारदेखि दैनिक कुवेत–भैरहवा हवाई उडान सुरु गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ जेठ २ गते उद्घाटन भएदेखि एयरलाइन्सले कुवेत–भैरहवा हप्तामा तीन वटा उडान गर्दै आएको थियो । जजिरा गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एक मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रवारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा नियमित रुपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए । उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवा १ सय १० वटा उडान गरेको छ ।

यी उडान हुँदै कुवेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना यात्रु आएका छन् । भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले कुवेत–भैरहवाबिच हवाई उडान भर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एयरलाइन्सबाट काठमाडौँ भन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ ।

 
 
  
 

You may also like