गाउँपालिका अध्यक्षलाई भोट माग्दै दाहाल

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनकपुर–भीठामोड सडक ६ लेन बनाउने काम तत्काल अघि नबढे अनशन बस्ने चेतावनी दिएका छन्।

महोत्तरीको पिपरामा आज आयोजित कार्यक्रममा जनकपुरबाट पिपरा–जलेश्वर हुँदै भीठामोड जोड्ने सडकको काम तत्काल अघि नबढे आफैंले जनताको आन्दोलनको नेतृत्व गरेर अनशन बस्ने दाहालले चेतावनी दिएका हुन्।

उनले पिपरा गाउँपालिका अध्यक्षका लागि आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारका लागि भोट माग्दै जनकपुर–भीठामोड सडकको प्रसंग निकालेका हुन्। यो सडकका लागि आफू प्रधानमन्त्री भएको बेला एक अर्ब रूपैयाँ छुट्याएर काम शुरू गरेको स्मरण गर्दै अध्यक्ष दाहालले पछिल्लो समय कछुवाको गतिमा काम अघि बढेको भन्दै आक्रोश पोखे।

“मैले नै दोस्रोपटक प्रधानमन्त्रीको हैसियतले यो बाटो अबिलम्ब बन्नुपर्छ भनेर प्रधानमन्त्रीको हैसियतले ठाडो आदेशसहित एक अर्ब रूपैयाँ छुट्याएर काम शुरू भयो र अहिले यो बाटोलाई ६ लेनको बनाउने निर्णय भइसकेको छ”, उनले भने, “३ वर्षदेखि जुन कछुवाको गतिमा काम भएको छ विल्कुल जनतालाई सैह्य छैन, मलाई पनि सह्य छैन । अब युद्धस्तरमा यो बाटो बनोस्, यदि बनेन भने हामी नै यहाँको जनताको आन्दोलनको नेतृत्व गरेर अनसनमा आउन नपरोस् भनेर मैले भनेको छु।”

अध्यक्ष दाहालले तराई-मधेशमा विकास निर्माणका जति पनि काम भएका छन्, सबै नेकपा नेतृत्वकै सरकारको पालामा भएको पनि स्मरण गराए। मधेशको विकासको लागि आफ्नो पार्टी जनताको साथमा खडा भएर उभिने उनकाे भनाइ छ।

नीजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अघि बढ्ने, सबैभन्दा पहिले २ नम्बर प्रदेश भएर रेल गुड्ने र कोशी डाईभर्सनको काम केपी शर्मा ओली नेतृत्वकै सरकारको पालामा अघि बढ्ने आश्वासन दिए।

उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेको उल्लेख गर्दै भारतले नबनाए आफैं अघि बढाउने भनेर भारतसँग कुरा गरिसकेको समेत उल्लेख गरे।

“मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा–सीधा आँखामा आँखा हेरेर भनेको छु– ‘तपाईंहरुले नबाउने हो भने, भनिदिनुस् हुलाकी मार्ग हामी आफै बनाउँछौं। किनकी, तपाईंको सहयोगमा बनाउने भनिएको हो किन ढिलो भयो? १६ वर्ष भईसक्यो।’, अब म बनाउँछु भनेर उहाँले भनेपछि मात्रै मैले बहस रोकेको थिएँ।”–उनले भने।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले काठमाडौँ–तराई द्रूत मार्गको उद्घाटन आफूले नै गरेको पनि स्मरण गरे। साथै, अध्यक्ष दाहालले मधेशसँगको आफ्नो प्रेम निरन्तर कायम रहने समेत दोहोर्‍याए।

 
 
  
 

You may also like