यूएन महासभाको अवसरमा पनि प्रधानमन्त्री अमेरिका नजाने

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि अमेरिका भ्रमणमा नजाने भएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन उनी अमेरिका जाने चर्चा थियो ।

प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणका लागि पटकपटक तयारी गरिए पनि भ्रमणको मिति तय हुन सकेको थिएन । पछिल्लो पटक यही १३ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म हुने यूएनको ७७ औं महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तय गरिएको थियो । तर अन्तिम समयमा सो सभामा प्रधानमन्त्री सहभागी नहुने भएका हुन् ।

एक त नेपालमा निर्वाचनको मिति तय भइसकेकको र अर्को अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएको कारण प्रधानमन्त्री देउवा यूएन महासभामा सहभागी हुन अमेरिका नजाने मुडमा पुगेको बताइएको छ ।

सो महासभामा नेपालको प्रतिनिधिका रुपमा परराष्ट्रमन्त्री नारायण खड्का जाने बताइएको छ । खड्काको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको भए पनि आगामी मन्त्रिपरिषदको निर्णयपछि मात्र पक्का हुनेछ ।

न्युयोर्कमा हुने महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख/राष्ट्रप्रमुख सहभागी हुने चलन छ ।

 
 
  
 

You may also like