विमान अवतरण गर्ने बेलामा दुवै पाइलट निदाएपछि…

by समतल अनलाइन

काठमाडौँ । सुडानबाट सोमबार इथियोपिया उडेको विमान दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ ।

यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८०० मा भएको हो । एभियसन हेराल्ड नामक वेबसाइटका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो । तर, अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो विमानले उचाइ घटाएन ।

एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोशिस गरेको थियो । तर, त्यो सम्भव भएन । विमान धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो । त्यसपछि विमानलाई फर्काएर २५ मिनेटको ढिलाइपछि सुरक्षित अवतरण गरिएको थियो ।

इथियोपियन एयरलाइन्सले अगस्ट १५ का दिन विमानले एटीसीसँग केही समयलाई सम्पर्क गुमाएको जनाएको छ । चालक दललाई हाल जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको एयरलाइन्सको भनाइ छ । पछिल्लो समय एयरलाइन्सहरुले थकित पाइलटहरुलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन् । एजेन्सी

 
 
  
 

You may also like