काँग्रेसले अन्तरिम संरचना गठन गर्न प्रक्रिया अघि बढायो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रुपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश गरी पारित गर्ने निर्णय गरेको छ ।

अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ ।

त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसको केन्द्रीय समिति बैठक गत असार २२ गतेदेखि जारी छ ।

बैठकमा काँग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन समितिका संयोजक एवं पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

त्यस्तै बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को गत वैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैगरी बाजुरा गौमुल गाउँपालिका–६, बसाला, शान्तिटोलमा बिहीबार राति घरमाथि पहिरो गई ३० वर्षीया निरुता चँदारा र उहाँकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, रमेश रिजाल, डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शङ्कर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक साउन २२ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

 
 
  
 

You may also like