शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६१ अंकले बढ्यो नेप्से

काठमाडौंँ । शेयर बजारमा गत शुक्रबार राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४-१२ को मार्जिन लेन्डिङ क्यापमा सामान्य हेरफेर गरेको छ । योसँगै न्यूनतम सीमा हटेको छ भने एउटै बैंकबाट पनि १२ करोडसम्म ऋण लिन सकिने व्यवस्था गरेको छ ।

योसँगै आइतबारको शेयर बजारमा यसको प्रभाव देखिएको छ । साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से ६१.०५ अंकले बढेको हो । ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि १२.०९ अंकले बढेको छ ।

कुल २१९ कम्पनीको कारोबार भएको शेयर बजारमा आज ६४ लाख बढी कित्ता शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४२ हजार ९ सय ३० पटकको खरिद बिक्रीमा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको हो ।

आइतबार सबै उपसूचकहरु बढेका छन् । आज १० कम्पनीको शेयर १० वा सोही प्रतिशत हाराहारीले बढेको छ । लगानीकर्ताले आज २ प्रतिशत भन्दा कम मात्र गुमाएका छन् । कूल कारोबारमा सर्वाधिक कारोबार आज पनि शिवम् सिमेन्टको भएको छ । कम्पनीको ३९ करोडको कारोबार भएको छ । शिवम् सिमेन्टको शेयर प्रतिकित्ता मूल्य ७८९ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like