प्रधानमन्त्री देउवासँग चिनियाँ नेता लिउ जियानचाओको भेट

काठमाडौँ । चार दिनका लागि नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आजै (आइतबार) मात्र नेपाल आइपुगेका जियानचाओले पहिलो भेट प्रधानमन्त्री देउवासँग गरेका छन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गरेका छन् । उनले जिम्मेवारी सम्हाले लगत्तै नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ ।

गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट शुरु गरेका छन् । उनले नेपाल आउनुअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए ।

भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।

 
 
  
 

You may also like