मन्त्री झाँक्रीको पनि राजीनामा दिने तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

यसअघि आज (आइतबार) नै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा पत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । आलेले पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

शुक्रबार आलोकनगरमै बसेको समाजवादीको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र पद त्याग्न तयार रहेको बताएका थिए । त्यही अनुसार आलेले आइतवार बिहान आलोकनगरमा पुगेर मन्त्री पद त्यागेको पत्र नेपाललाई बुझाएका हुन् ।
आलेको राजीनामा पत्र आइसकेपछि अध्यक्ष नेपालले आइतवार बिहान पार्टीनिकट अनेमसंघको कार्यक्रममा केही मन्त्रीको राजीनामा पत्र आइसकेको बताएका थिए ।

‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनु भएको छ । पार्टीलाई जुन बेला मन लाग्छ म बाहिर प्रेसमा पठाएर सार्वजनिक गर्नेछु’, उनले भनेका थिए, ‘राजीनामा पत्र नै चाहिँदैन । पुनर्गठनका लागि हाम्रो निणर्य नै पर्याप्त छ ।’

नेपालले केही मन्त्रीहरूबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको पनि बताएका थिए । तर जेठ २२ मा पार्टीले फिर्ता गर्ने निणर्य गरेका सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडा अझै पनि पद जोगाउने लबिङमा छन् ।

उनीहरुले शनिबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । आलेको राजीनामा पत्र आएसँगै नेपालले सकेसम्म आइतवार साँझसम्म सबै चार नयाँ मन्त्रीको शपथ हुने बताएका छन् । नेपालको सचिवालयका अनुसार आजै साँझसम्म नयाँ मन्त्रीको शपथ खुवाउने गरी प्रधानमन्त्री देउवासँग शनिबारै कुरा भइसकेको छ ।

जेठ २२ को सचिवालय निणर्यअनुसार समाजवादीबाट जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिराचन्द्र केसी र मेटमणि चौधरी मन्त्री हुँदैछन् । यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले बढुवा भएर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

 
 
  
 

You may also like