एसियन कप छनोट : नेपाल कुवेतसँग नेपाल ४-१ गोलले पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४-१ गोलले पराजित भएको छ । गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोलले पराजित भएको हो । घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काएका छन् । नेपालको लगातार यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा पर्सि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसैबीच कुवेतसँगको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

 
 
  
 

You may also like