चार प्रदेशमा फैलियो मनसुन, तीन प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश-१, मधेस , बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश-१, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आङ्शिक बदली भई प्रदेश-१, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले औंल्याएको छ ।

हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा प्रदेश-१ र मधेस प्रदेशका धेरै स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश-१, मधेस र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस छ ।

 
 
  
 

You may also like