बञ्चरेडाँडा र सिसडोलमा जग्गा अधिग्रहणका लागि तत्काल बजेट छुट्याइयोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको जग्गा अधिग्रहणका लागि तत्काल बजेट विनियोजन गर्न माग गरेका छन् ।

यही वर्षको बजेटबाट जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्नका लागि थापाले माग गरेका हुन् । शुक्रबार शहरी विकास मन्त्रालयमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हुँदै थापाले बजेट माग गरेका हुन् । स्थानीयहरुले तत्काल विश्वास गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले काम प्रारम्भ गर्ने लिखित निणर्य गर्न सुझाए ।

‘अहिले यति छलफल भइसकेपछि स्टेरिङ कमिटीको एउटा बैठक राखेर खासगरी जग्गा अधिग्रहण र अन्य विषयलाई लिएर थप क्यालिफाइ गरेर यसै वर्ष बजेट छुट्याउने र काम प्रारम्भ गर्ने भन्ने निणर्य गरिनुपर्छ,’ उनले भने, ‘जुन कुराले हामीलाई त्यहाँ अनुगमनमा जानका लागि र स्थानीयलाई विश्वास दिलाउन सहज हुन्छ ।’

विश्वासको संकट भएकाले जग्गा अधिग्रहणकै लागि अहिले नै बजेट राखिनुपर्ने थापाले बताएका छन् । खासगरी नुवाकोटको सिसडोल र धादिङको बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि सरकारले पटक पटक सहमति गरेर कार्यान्वयन नभएको गुनासो गरेका थिए । यसअघि गत सोमबार शहरी विकास मन्त्रालयमा भएको सहमतिलाई पनि स्थानीयले मानेका थिएनन् ।

 

 
 
  
 

You may also like