गुल्मीका १२ पालिका : पाँच वटामा काँग्रेस, चार वटामा माओवादी केन्द्र र तीन वटामा एमाले विजयी

गुल्मी । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतपरिणाम अनुसार ५ वटा पालिकामा काँग्रेस, ४ वटा पालिकामा माओवादी केन्द्र र ३ वटा पालिकामा एमालेले जित हात पारेको छ ।

जिल्लाको दुई नगरपालिका मध्ये रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ । भने मुसिकोट नगरपालिकामा एमालेले जितेको छ । रेसुङ्गामा काँग्रेस सभापति समेत रहेका खिलध्वज पन्थी मेयरमा र उपमेयरमा काँग्रेसकै अमृतादेवी कुवँर विजयी भएका छन् ।
मुसिकोट नगरपालिकामा एमालेले जितेको छ । उक्त नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ विजयी भएका छन् । त्यसबाहेक काँग्रेसले कालिगण्डकी, गुल्मीदरवार, मदाने, र ईश्मा गाउँपालिका जितेको छ ।
त्यस्तै माओवादी केन्द्रले चन्द्रकोट, धुर्कोट, मालिका र रुरु गाउँपालिकामा जित निकालेको छ भने एमालेले मुसिकोट सहित छत्रकोट र सत्यवतीमा जित हात पारेको छ ।

काँग्रेसले जितेको कालिगण्डकीको अध्यक्षमा काँग्रेसका बेदबहादुर थापा र उपाध्यक्षमा एमालेकी मञ्जुकुमारी दर्लामीले जितेकी छन् । गुल्मीदरवारमा अध्यक्ष उपाध्यक्ष दुबै पद काँग्रेसले जितेको छ । गुल्मीदरबारको अध्यक्षमा सरोजकुमार थापा र उपाध्यक्षमा तारा ढेगा मगरले जितेका हुन् । मदानेमा काँग्रेसका महेन्द्रबहादुर कुवँर र उपाध्यक्षमा एमालेकी सरीता खड्का, ईश्मामा अध्यक्ष उपाध्यक्ष दुबै पद काँग्रेसले जितेको छ । उक्त गाउँपालिकाको अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुवँरले जितेका हुन् ।

त्यस्तै माओवादी केन्द्रले जितेको चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज खत्री र उपाध्यक्षका काँग्रेसका विष्णुप्रसाद भण्डारीले जितेका छन् । एमाले माओवादी तालमेल भएको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोखरल र उपाध्यक्षमा एमालेकी सीता गिरीले जितेका छन् । त्यस्तै मालिकाको अध्यक्षमा माओवादीका देवीराम अर्याल र उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्याल विजयी भएका छन् । रुरु गाउँपालिकाको अध्यक्षमा माओवादीका यदु ज्ञवाली र उपाध्यक्षमा एमालेकी मीनादेवी गौतम विजयी भएका छन् । त्यहा काँग्रेस माओवादी लगायतका दलको चुनावी तालमेल थियो ।

तीन पालिका जितेको एमालेबाट छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली तथा सत्यवती गाउँपालिकाको अध्यक्षमा टिकाराम पाण्डे र उपाध्यक्षमा निरमायाँ तरामुले जित हात पारेका छन् ।

 
 
  
 

You may also like