बुटवलमा खेलराज पाण्डेको ५ हजार १३ बढी मतले अग्रता कायम

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस उम्मेदवार खेलराज पाण्डेले ५ हजार बढी मतको फराकिलो अग्रता कायम गरेका छन् ।

बुधबार मध्यान्न प्राप्त मतपरिणाम अनुसार एमाले उम्मेदवार बाबुराम भट्टराईको भन्दा काँग्रेस उम्मेदवार पाण्डेको मत ५ हजार १३ बढी छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९ को २७ हजार ५५७ मतगणना गरिएको छ । जसमा पाँच दलीय गठबन्धनका उम्मेदवार पाण्डेले १५ हजार ५८९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार भट्टराईले १० हजार ५७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २ हजार ६४० मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले उम्मेदवार सावित्रा अर्याल अगाडि छन् । उपमेयरमा अर्यालले ११ हजार ७२५ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै बुटवलको वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत, २ को अध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य, वडा नं. ३ गठबन्धनबाटै माओवादी केन्द्रका विष्णु ढकाल, वडा नं. ४ मा नेपाली काँग्रेसका नरिश्वर शर्मा पौडेल, वडा नं. ५ मा नेपाली काँग्रेसका हरिप्रसाद श्रेष्ठ, वडा नं. ६ मा काँग्रेसका लोकनाथ न्यौपाने, वडा नं. ७ मा काँग्रेसकै पदमराज गाहा निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं. १५ को अध्यक्षमा काँग्रेसका शिव राना, वडा नं. १६ मा काँग्रेसका कृष्णप्रसाद पौडेल, वडा नं. १७ काँग्रेसका ज्ञानप्रसाद रेश्मी तथा वडा नं. १८ मा एमालेका गुरुप्रसाद पंगेनी र वडा नं. १९ मा पनि एमालेकै चन्द्र सिंह थापा विजयी भएका छन् ।

 
 
  
 

You may also like