नेपाल आउँदा मलाई राजनीतिक भ्रमण भन्दा, अध्यात्मिक अनुभूति हुन्छ : मोदी

‘नेपाल बिना भगवान राम पनि अधुरा’
भैरहवा । नेपालको लुम्बीनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा भाषण गर्दै सबैलाई बुद्ध पूर्णिमाको शुभकामना दिएका छन् । सोमबार २५६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल भ्रमणमा आएका मोदीले सबैलाई बुद्ध जयन्तीको शुभकामना दिएका हुन् ।

भ्रमणका क्रममा दुईपक्षीय वार्तापछि बुद्ध जयन्तीको समारोहमा बोल्दै मोदीले भने, ‘बुद्ध जयन्तीको पावन अवसरमा यस सभामा उपस्थित यहाँहरु सबैलाई, सम्पूर्ण नेपालवासीहरुलाई र विश्वका सबै श्रद्धालुजनलाई लुम्बिनीको पवित्र भूमिबाट बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना ।’

यस्तै मोदीले नेपाल बिना भगवान राम पनि अधुरा रहने बताएका छन् । उनले भारतमा राम मन्दिर बनिरहँदा नेपाली पनि उत्तिकै खुशी भएको बताएका छन् । उनले नेपाल सगरमाथाको देश, दुनियाँको अनेक पवित्र तीर्थ र मठको देश, नेपाल दुनियाँका प्राचीन सभ्यता, संस्कृति रहेको देश भएको बताए । यस्तै मोदीले नेपालीमै बोल्दै अघि भनेका छन्, ‘नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग एउटा छुट्टै अध्यात्मिक अनुभूति हुन्छ ।’

मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो ।

दुईपक्षीय भेटवार्ताअघि देउवा र मोदीले मायादेवी मन्दिरमा पुजा गरेका थिए र त्यसपछि बौद्ध बिहारको शिलान्यास गरेका थिए । त्यसपछि पवन होटलमा भेटवार्ता सुरु भएको थियो । मोदी आजै साँझ भारतीय वायु सेनाको हेलिकप्टरबाट भारतको कुशीनगर फर्किने छन् ।

 
 
  
 

You may also like