बुटवलमा २८ जना नेवा उम्मेबारबिच अन्तरक्रिया

बुटवल।स्थानिय निर्वाचन २०७९ मा बुटवल उपमहानगरपालिकाका नेवा उम्मेदवारहरुसंग परिचय तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेवाः सेवा समिति बुटवलको संयोजन तथा नेवा पत्रकार समाजको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेवाः सेवा समितिका अध्यक्ष तथा संयोजक चिरञ्जीवी श्रेष्ठले नेवा समुदाय संगठित रहेको बुटवल उपमहानगरपालिकाभित्र बढ्ने अवसरका रुपमा रहेको बताए ।
समाजका संयोजक शरण कर्माचार्यले नेपालकै मध्ये भागमा पर्ने बुटवल नगर नेवार समुदायको बलियो उपस्थित रहेको दाबी गरे । करिब साढे ६ प्रतिशतभन्दा बढि नेवार समुदायको जनसंख्या रहेको बुटवलमा आफ्नो हकहित र संस्कृति जगेर्ना गर्न नेतृत्वमा आउने अवसर भएको उनले बताए । नेवारी भाषाको संरक्षणका लागि अनिवार्य नेवार शिक्षा आवश्यक भएको उनले बताए । गुठी परम्परा अप्नाउने नेवार समुदाय सफल ब्यापारीका रुपमा चिनिने उनले दाबी गर्दै आफनो यही पहिचान र छबि जोगाउने दायित्व युवा पुस्तामा आएको बताए ।
कार्यक्रममा नेवा पुच, नेवा विकास परिषदका अध्यक्ष काजिमान श्रेष्ठले निर्वाचन पार्टीबाट निर्देशित हुने र आफुहरु भावनात्मक रुपमा एकतावद्घ रहेको बताए । कुनै बेला बुटवलमा नेवार समुदाय राजनिति, वित्तिय क्षेत्रमा बलियो रहेको स्मरण गर्दै अहिले अवस्था परिवर्तन भएको उनले बताए ।
वडा नं ५ का वडाअध्यक्षका उम्मेदवार हरि प्रसाद श्रेष्ठले पुरानो बस्ती बुटवलको विकासमा नेवार समुदायको धेरै योगदान रहेको बताए । ईतिहासको अध्ययनबाट करीब १ सय ६२ वर्षअघि बुटवलको बस्ती बिकासमा नेवारहरुको अगुवाई भएको भन्दै यीनै योगदान जोगाउन अब नेतृत्वमा नेवार समुदायबाट आउनुपर्ने उनले बताए ।
वडा नं १ का वडाअध्यक्षमा उम्मेदवार महेन्द्र लिगलले नेवारबादलाई कहा लग्ने भन्ने योजना बनाउने काम हुने बताए । आफु बिजयी भए संस्कृति शहरको रुपमा धरोहर बनाउने उनले बताए । घोषणापत्रमा जातजातीहरुको विविध संस्कृति संरक्षणलाई जोडेको उनले बताए । वडा नं ११ का वडा सदस्यका उम्मेदवार लक्ष्मण श्रेष्ठले आफनो वडामा कुल १६ हजार मत रहेको मध्ये ३ हजार नेवारहरुको मत रहेको भन्दै बढीभन्दा साथसहयोगको अपेक्षा गरे ।
नेवा पुच देविनगरका अध्यक्ष लक्ष्मण श्रेष्ठले कार्यक्रम ढिलो भएको भन्दै आगामी दिनमा समयमा नै संगठनमा लाग्नुपर्ने बताए । बुटवलमा पछिल्लोसमय लोप हुँदै पहिचान हराउदै गएको भन्दै उनले योजनाबद्घ रुपमा संगठित भएर लाग्न सुझाव दिए ।
कार्यक्रममा वडा नं ६ का वडाअध्यक्षका उम्मेदवार दिपक श्रेष्ठ, वडा नं ९ का वडा सदस्यका उम्मेदवार बिमला श्रेष्ठ, भिमसेन गुठीका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, समितिका सदस्य सुमन श्रेष्ठले उम्मेदबारहरुलाई सफलताको शुभकामना दिएका थिए ।
बुटवल उपमहानगरपालिकामा स्थानिय निर्वाचनमा नेवार समुदायका २८ जना वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवार छन ।

 

 

 
 
  
 

You may also like