अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उनले भने, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।’ अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए ।

देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ देउवाले सत्ता गठबन्धनका पक्षधर ८२ प्रतिशत जनताले आफूलाई मत दिएकाले पार्टी सभापति जित्न सफल भएको जिकिर गरेका छन् । बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गाउँदेखि नै चुनिएर आएका पार्टी सदस्यले आफूलाई मत दिएर सभापति जिताएको बताए ।

‘गठबन्धनका कारण ८२ प्रतिशत भोट ल्याउँदै मैले सभापति जितेको हो । कांग्रेस जनताको पार्टी हो । यो जनता, जनप्रतिनिधिको मत हो’, उनले भने, ‘पार्टी गाउँदेखि केन्द्रका साथीहरूले दुईतिहाइ बढी मतले जिताउनु भयो । यो सबै गठबन्धनका कारणले भएको हो ।’

गठबन्धनबाट सहयोग नभएको भए आफूले पार्टी सभापति जित्न नसक्ने उनको भनाइ छ । ‘यसबाट स्पष्ट हुन्छ कि नेपाली जनता गठबनधनप्रति समर्पित छन् । त्यसकारण मात्र मैले जितें, नभए कहाँबाट जित्थें ?’, उनले भने, ‘मेचीदेखि महाकालीसम्मका सम्पूणर् नेपाली कांग्रेसका साथीहरूले गठबन्धनप्रति समर्थन गरेको हो, स्पष्ट पार्छु ।’ पार्टी सभापतिमा विजयी हुँदा देउवाले ५९.२५ र उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाले ४०.७५ प्रतिशत मत ल्याएका थिए ।

 
 
  
 

You may also like