बुटवलको विकासका लागि एमालेको सात संकल्प

बुटवल । उपमहानगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरूले विकासका लागि सात संकल्पसहित चुनावी मैदानमा होमिएका छन्।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले सुरू गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै मुख्यतः सात योजनालाई अघि सारेको हो।

‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ,’ एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, ‘५ वर्षमा मुख्य सात एजेन्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं।’

एमालेको पहिलो एजेन्डामा बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने भनेको छ।

आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो। उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेन्डालाई अगाडि बढाएको हो।

आर्थिक राजधानी निर्माण गर्न उद्योग, व्यापार अनुकूल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरूपका पूर्वाधार बनाउने योजना एमालेका छन्।

मोतिपुर औद्योगिक करिडोरबाट प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरूमा छ।

आर्थिक केन्द्र बनाउन निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवर्द्धन गरिने मेयर भट्टराईले बताए।

निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए। स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिई ब्रान्डिङ गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवर्द्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ।

स्थानीय कच्चा पदार्थको उपयोग बढाउने, बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्न जमिनमुनि भूमिगत बजार र माथि पार्किङ रहने गरी नेपालकै नमूनायोग्य बहुउद्देश्यीय बजार केन्द्र बनाउने योजना छ।

रोजगारदाता र श्रमशक्तिबीच समन्वय गर्न स्थापित मजदुर बैंक पोर्टल एपलाई प्रभावकारी बनाइ श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गर्ने योजना पनि छ।

बुटवलको ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत बजारको रूपमा स्थापित गर्ने एमालेको दोस्रो एजेन्डा छ।

‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा बस्तीको रूपमा विकास गरेर पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सकिन्छ। त्यो गर्नुपर्छ,’ उपमेयर उम्मेदवार साबित्रादेवि अर्यालले भनिन्, ‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरबार पुरातात्विक महत्वको हिसाबले अर्थपूर्ण छन्। यिनको विकास, संरक्षण र सम्बर्द्धनका लागि केही प्रयास भएका छन्। जसलाई अझै व्यवस्थित गरी नयाँपन ल्याउनुपर्नेछ।’

वर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डिपिआर बनाएको छ। त्यसलाई तुरून्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुने बुटवल एमालेले जनाएको छ।

१ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन्।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत सहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवर्द्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउँछन्। जीतगढीलाई पर्यटनसँग जोडेर बुटवलको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ।

एमालेले तेश्रो एजेन्डामा तिब्र रूपमा भइरहेको बसाइसराइको व्यवस्थापनलाई बनाएको छ। बसाइसराइसँगै हुने जनघनत्वलाई आवश्यक आधरभूत विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ।

उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीको पर्याप्त सम्भावना भएको हुँदा बुटवलमा बसाइ सरी आउनेको चाप छ। तर पर्याप्त जग्गाको अभाव छ।

भएकै जग्गालाई व्वयस्थापन गरेर आधुनिक र व्यवस्थित सहर बसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिक सहर निर्माणको सम्भाव्यता खोज्ने योजना एमाले उम्मेदवारहरूको छ।

बुटवललाई विकासको मानक बनाउने चौथो एजेन्डामा बुटवललाई आधुनिक र अन्तर्राष्ट्रिय सहर बनाउने छ। त्यसको दायित्व एमाले उम्मेदवारहरूको भएको बताए।

पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनी सम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गर्ने योजना छ।

अर्को एजेन्डा सुकुम्बासी, अव्यवस्थित बसोबास व्यवस्थापनलाई बनाएको छ।

‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो। तर यो समस्या हैन समाधान हो,’ मेयरका उम्मेदवार भट्टराईले भने, ‘भुँई तहका मान्छेको व्यवस्थापन गर्दा यो अझै व्यवस्थित हुनसक्छ। उनीहरू यहाँ किन आउन खोज्छन् भन्दा यहाँ बाँच्न सकिन्छ। बाँच्न सक्ने वातावरण बुटवल आफैले बनाएको छ भने यसलाई थोरै मात्र व्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुनसक्छ।’

यो आवश्यकता पूरा गर्न बुटवलले संघ, प्रदेश समेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ।

सीप, योग्यता र क्षमता भएका व्यक्तिलाई विदेशिनबाट रोक्ने अर्काे एजेन्डा एमालेको छ। ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको दाबी छ।

अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको हुँदा धेरै अवसर सिर्जना हुने भन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाएको मेयर भट्टराईले बताए।

‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन्। तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनेछौं,’ उनले भने।

बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंगिकार गरिने उनले बताए।

बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेन्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाइ छ। आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातवरण बनाउने जिम्मेवारी आफूहरूले लिने उनले बताइन्।

 
 
  
 

You may also like