चुनाव जितेपछि राज्यबाट पाउने तलब भत्ता विपन्न विद्यार्थीलाई दिन्छु : रामकृष्ण खांण

बुटवल। नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले नेकपा एमाले र भ्रष्टाचार एक सिक्काको दुई पाटा भएको बताउनुभएको छ । एमाले सरकारमा हुंदा हरेक क्षेत्रमा भ्रष्टाचारले सीमा नाघेको र नीतिगत भ्रष्टाचारलाई एमालेले संस्थागत गरेको उहांको आरोप छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थानीय चुनाव संयुक्त प्रचार अभियानको तिलोत्तमा उद्घाटन गर्दै नगर प्रमुखका उम्मेदवार समेत रहनुभएका खांणले तिलोत्तमा नगरपालिकाले दुई वर्ष अघि गरेको लगानी सम्मेलन उपलब्धीहीन भएको बताउनुभयो । तिलोत्तमा लगानी सम्मेलनका नाममा एक करोड ५० लाख बढी खर्च भएपनि प्रतिफल शुन्य भएको बताउनुभयो ।

उम्मेदवार खांणले आफू निर्वाचित भएपछि राज्यबाट पाउने तलब भत्ता विपन्न विद्यार्थीलाई छात्रवृत्ति र सामाजिक काममा खर्च गर्ने,सडक बनाउदा स्थानीयबाट पैसा नउठाई केन्द्रबाट वजेट ल्याएर बनाउने, फोहोर मैला शुल्क घटाउने, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजांच सुबिधा दिने लगायतका प्रतिवद्धता जनाउनुभयो ।

नेकपा माओवादी केन्द्रका इन्चार्ज निर्मल जीसीले राप्रपासंग तालमेल गरेर एमाले २०४७ को संविधान ब्युताउने र फेरि प्रतिगमन दोहो¥याउने योजनामा रहेकाले गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता अब्दुल रज्जाकले आन्दोलनका उपलब्धी, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको भन्दै दुबै पार्टी इमान्दार भए मात्र चुनाव जित्न सकिने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नगर सभापति हरिलाल पाण्डेको संयोजकत्वमा ५ हजार एक सदस्यीय प्रचार प्रसार समिति, रामचन्द्र ढकाल संयोजक र रोमणी पाठक लगायत सदस्य रहेको सल्लाहकार समिति र दुबै पार्टी नेताहरु रहेको चुनावी सचिवालय गठन भएको छ ।

कार्यक्रममा माओवादी नगर अध्यक्ष बेलप्रसाद शर्मा,कांग्रेस सचिव प्रदीप थापा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

 
 
  
 

You may also like