एमालेको घोषणापत्र : ठूला शहरमा रेल, मोटरबाटो नपुग्ने स्थानमा केबलकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ठूला शहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा यो विषय उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला शहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने ।’ यस्तै मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

एमाले जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने, सार्वजनिक सम्पत्ति दोहन गरे कठघरामा उभ्याइने
नेकपा एमालेले स्थानीय तहमा भ्रष्टाचार नगर्ने र हुन नदिने घोषणा गरेको छ । घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले एमालेका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने घोषणा गरे । यो कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसै गरी सार्वजनिक सम्पत्ति दोहनलाई गर्नेलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले कठघरामा उभ्याउने घोषणापत्रमा उल्लेख छ । ‘हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुन् । सामाजिक जागरण र अभियानका बाहक हुन्। सुशासनको नमूना केन्द्र, सदाचारमा दृष्टान्त बनाउनु पर्छ,’ पोखरेलले घोषणापत्र समारोहमा भने, ‘हाम्रा प्रतिनिधिले भ्रष्टाचार गर्ने छैनन् । भ्रष्टाचार गर्न दिने छैनन् । अनियमितता र सार्वजनिक सम्पत्ति दोहन गर्नेलाई कारवाही गर्न अग्रणी भूमिका खेल्ने छन् ।’

त्यसैगरी घोषणापत्रमा अब गुणवान र सक्षम नागरिक उत्पादन गर्नुपर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, जीवनपयोगी र सीपयुक्त बनाउनुपर्ने उल्लेख छ । ‘स्वास्थ्य पूर्वाधार, जनशक्ति, निरोगी नेपाल स्वस्थ नेपाली निर्माणमा जोड दिनुपर्छ । आधुनिक उर्जा सिँचाइ कृषिमा जोड दिनुपर्छ,’ पोखरेलले भने ।

पोखरेलले मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको गठबन्धनबाट राज्यले मुक्ति खोजेको जिकिर गरे । ‘यो जति रहन्छ संकट व्यहोर्नुपर्छ। राष्ट्रिय रजनीतिलाई सही बाटोमा फर्काउन यस निर्वाचनमा एमालेले जित्नुपर्छ । विगतमा गरेका कामहरुको उचाईमा उभिएर परिवर्तन गर्नुपर्ने कुरामा हामीले जोड दिएका छौं । गठबन्धनको सरकार जतिसक्दो चाँडो ढालेर अगाडि बढ्न चाहन्छौं । त्यसका लागि सूर्य चिन्हका उम्मेदवार जित्नुपर्छ,’ उनले भने ।

 

 
 
  
 

You may also like