माधव नेपालको आरोप : ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्ने गरेका छन्

काठमाडौंं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ओलीले सत्ता गठबन्धन तोड्न लागेको आरोप पनि लगाए ।

‘गठबन्धन तोड्न ओली लागिपरेका छन् । उनी पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्’, उनले थपे, ‘दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थी शक्ति हौं । लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्छौं ।’
‘चुनावी गठबन्धनबारे कांग्रेसको निणर्य पर्खिरहेका छौं’
अध्यक्ष नेपालले चुनावी गठबन्धबारे नेपाली कांग्रेसको निणर्य पर्खिरहेको बताएका छन् । उनले कांग्रेसका केही नेताहरु गठबधन गर्नु हुँदैन भनिरहेको र कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा भने गठबन्धनको पक्षमा रहेको उनको भनाइ छ ।

‘चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर केही मान्छेले भनिरहेका छन् । तर, शेरबहादुरजीले पटक-पटक भनिरहनु भएको छ’, उनले भने, ‘यो गठबन्धनसँगै मिलेर चुनावमा जानेछौं । अब पार्टीले के निणर्य गर्छ पर्खिरहेका छौं ।’ उनले गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको पनि जानकारी दिए । तर, विचार मिल्नेहरुसँग गठबन्धन गरेर जाने उनको भनाइ छ ।

 

 
 
  
 

You may also like