थारु पत्रकार संघ रुपन्देहीको अध्यक्षमा अनिता चौधरी

बुटवल।थारु पत्रकार संघ रुपन्देहीको अध्यक्षमा अनिता चौधरी सर्बसम्मत निर्वाचित भएकी छन् । संघको मंगलबार साधारण सभा तथा चौथो अधिवेशनले अनिता चौधरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यसअघि उनी उपाध्यक्ष थिइन् । यस्तै उपाध्यक्षमा मनजित चौधरी, सचिव जितेन्द्र चौधरी, कोषाध्यक्ष विष्णु चौधरी लगायत रहेका छन् ।

थारु पत्रकार संघ रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षत एवम् थारु कल्याणकारिणि सभा रुपन्देहीका अध्यक्ष शतिष कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनमा बोल्दै चौधरीले थारु जातिको अधिकार स्थापितका लागि थारु पत्रकारले कलम चलाउनुपर्ने बताए ।

थारु पत्रकार नेपालकै पिछडिएको एवं उत्पीडनमा परेको समुदायबाट बिभिन्न चुनौतीहरू पार गर्दै आफ्नो समुदायको उत्थान र हक अधिकार सुनिश्चितताका लागि कलम चलाउँदै आईरहेको हुँदा यसलाई चुनौतीका साथसाथै जिम्मेवारीको रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले पत्रकार राज्यको चौथो अंग रहेकोले समाजमा देखिने गलत प्रवृत्ति, विकृति विसंगती विरुद्ध खबरदारी गर्दै थारु जातिको पक्षमा कलम चलाउदै राष्ट्रिय हितको पक्षमा डटेर लाग्न थारु पत्रकारलाई सुझाव दिए । पत्रकारिता पेशा एक संवेदनशील र विषम परिस्थितिमा पनि समाचार रिपोर्टिङ गर्न जानुपर्ने हुँदा राज्य संयन्त्रले पत्रकारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने जिकिर गर्नुभयो ।
नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरीले पत्रकारिता पेशामा थारु पत्रकारको संख्यात्मक र गुणात्मक वृद्धि गर्नुपर्ने बताउनुभयो । पत्रकारिता पेशाको बारेमा नबुझेकै कारण थारु युवा पत्रकारितामा आउन नचाहेको बताउदै पत्रकारिता विषयको बारेमा बुझाउन आवश्यक रहेकोे जोड दिनुभयो ।

आर्थिक श्रोत कमीका कारण थारु पत्रकारलाई टिकाउन समस्या हुने गरेको बताउदै उहाँले पत्रकारिता पेशामा आबद्ध पत्रकारहरुलाई थारु संघसंस्था एवं राजनीतिक व्यक्तित्वहरुले साथ, सहयोग र प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश अध्यक्ष भरत बहादुर केसी एवं गरिमा टोल विकास संस्था तिनपा-१० का अध्यक्ष कलम बहादुर चौधरी लगायतले बोल्दै थारु समुदायको हक अधिकारको पक्षमा थारु पत्रकारहरुलाई कलम चलाउन सुझाव दिएका थिए । कार्यक्रममा संघका अध्यक्षले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष राज चौधरीको अध्यक्षता, उपाध्यक्ष अनिता चौधरीको स्वागत र कार्यवाहक सचिव मनजित चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

उत्कृष्ट पत्रकारिता पुरस्कार अनिता र जितेन्द्रलाई :
थारु पत्रकार संघ रुपन्देहीको साधारण सभा तथा चौथो अधिवेशनमा दुई पत्रकार सम्मानित भएका छन् । संघले पत्रकारिता मार्फत समाजको हित एवं पैरवीका लागि योगदान पुर्याउने एक जना पत्रकारलाई प्रत्येक बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
उत्कृष्ट पत्रकारिता पुरस्कार वर्ष २०७७ अनिता चौधरीलाई र वर्ष २०७८ को उत्कृष्ट पत्रकारिता पुरस्कार जितेन्द्र चौधरीलाई प्रदान गरिएको छ । कोभिड महामारीका कारण बर्ष २०७७ को उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्न असमर्थ रहेकोले सो पुरस्कार यो बर्ष प्रदान गरिएको संघका अध्यक्ष राज चौधरीले बताउनुभयो । त्यसैगरी सञ्चार माध्यममार्फत प्राविधिक रुपमा विशेष योगदान पुर्याएवापत पत्रकार विष्णु चौधरीलाई सम्मानपत्र प्रदान गरिएको छ ।

चौधरीको स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष :
थारु पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष स्वस् हिक्मत चौधरीको स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना खडा गरिएको छ । लामो समयदेखी पत्रकारिता पेशामा सक्रिय वरिष्ठ पत्रकार चौधरीको गत वर्ष कोरोना महामारीको विषम परिस्थितिमा कोरोना संक्रमित भइ ज्यान गुमाउनु भएको थियो ।

संघको साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारेर स्वर्गीय पत्रकार हिक्मत चौधरी स्मृतिमा रु ५ हजारको पत्रकारिता पुरस्कार अक्षयकोष खडा गरिएको छ । अक्षयकोष स्थापनार्थ गर्न थारु कल्याणकारिणि सभा रुपन्देही अध्यक्ष सतिश कुमार चौधरीले नगद रु। पाँच हजार ९५,०००र(० सहयोग गर्नुभएको छ ।

 
 
  
 

You may also like