बुटवल-नारायणगढ सडक विस्तार कछुवा गतिमा

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ ।

विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको यो सडकको पुनर्निर्माणको प्रगति भने निराशाजनक छ ।

बुटवल-नारायणगढ खण्डको एक सय १४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवम् ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल झण्डै १० प्रतिशत काम सकिएको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल खण्डलाई गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैंडाकोट-दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड) मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ ।

सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । सडक विस्तारको काम भएसँगै गंँडाकोट क्षेत्रमा साना पक्की पुल (माइनर ब्रिज) निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरु भएको थियो । सडक विस्तारको काम सुरु भएपछि बिग्रिएको-भत्किएको बाटो मर्मतको काम समेत ठप्प भयो । सडक भत्किएका ठाउँमा मर्मत नहुँदा यात्रु मात्रै नभएर स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् । यस खण्डमा दैनिक सवारीसाधन चलाउने चालक तथा साना व्यवसायी बाटोको कारण दिक्क भएको स्थानीय व्यवसायी विवेक थापाले बताए ।

नारायणगढबाट अटोमा सामान ल्याएर मुकुन्दपुरमा व्यवसाय गर्दै आएका थापाले सडकका कारण दैनिक आवतजावतमा निकै समस्या परेको गुनासो गरे । ‘यो सडक दैनिक हिँड्नुपर्छ, सामानसहितको अटो डाइभर्सन बिग्रिँदा समस्या पनि हुने गरेको छ । ‘सडकको दुरावस्थाका कारण मेरो अटोसमेत पटक-पटक बिग्रिन थालेको छ,’ उनले भने ।

बुटवल- नारायणगढ सडक खण्डको वन क्षेत्रमा सबैभन्दा बढी समस्या छ । खाल्डाखुल्डीमा सवारीसाधन गुडाउँदा चाँडै बिग्रिने तथा सवारीसाधनमा समस्या आइरहने व्यवसायी बताउँछन् । कामका लागि मोटरसाइकलमा यात्रा गर्न नै अप्ठ्यारो हुने गरेको स्थानीयवासी शङ्कर आचार्यले गुनासो गरे ।

‘नजिकै नारायणगढ बजार भएका कारण किनमेलमा निस्कन तथा कार्यालय जानका लागि सधैँ मोटरसाइकल प्रयोग गर्ने गरेको छु’, आचार्यले भने, ‘धुलोका कारण मोटरसाइकलमा यात्रा गर्नै समस्या हुने गरेको छ ।’ विस्तारको क्रममा रहेको सडक चाँडै निर्माण भएर सहज यात्रा गर्न पाउने दिन आशामा आफूहरूको दिन बित्ने गरेको आचार्यले बताए ।

निर्माणाधीन सडक भएर यात्रा गर्ने यात्रका साथै स्थानीयवासी धुवाँ र धुलोका कारण आजित भएका छन् । सडक विस्तारका क्रममा केही ठाउँमा पानी हालेर धुलो उड्न नदिइने गरेको भए पनि सबै ठाउँमा पानी नहाल्दा समस्या हुँदै आएको छ ।

पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने समस्याले राजमार्ग नजिक घर हुने बासिन्दा तथा व्यापारीलाई धेरै असर गर्ने गरेको गैँडाकोट-१० का व्यवसायी विष्णुप्रसाद पौडेलले बताए । सडकबाट उडेको धुलो पसलमा गएर थुप्रिँदा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा असर परेको पौडेलको भनाइ छ । ‘जङ्गल नजिकै हाम्रो पसल छ, यही ठाउँमा धेरै ठाउँमा डाइभर्सन निर्माण गरिएका कारण पनि असाध्यै धुलो उड्ने गरेको छ’, पौडेलले भने, ‘सडकमा उडेको धुलो पसलमा आउँदा ग्राहक समेत पसलमा किनमेलका लागि आउन छाडिसकेका छन् ।’

सडक विस्तारको काम सुरु भएको केही महिनापछि नै कोभिड-१९ को महामारीका कारण सडक निर्माण प्रभावित बन्न पुग्यो । पहिलो लहरका बेलामा सडक विस्तारको काम निकै प्रभावित भएको थियो । सडक विस्तारमा खटिएका मजदुरले बेलाबेलामा विभिन्न माग पनि राख्दै निर्माणको काम नै ठप्प पारे ।

राष्ट्रिय गौरवको आयोजना बुटवल-नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा बर्खामा बाढीका कारण डाइभर्सन बग्नाले समेत यात्रुले निकै दुःख पाएका थिए । पटक-पटक डाइभर्सन नै बगेर राजमार्ग बन्दको सास्ती पनि धेरै बेहोर्नुपरेको छ । समय हुँदा काममा आलटाल र ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले अब निर्माणको म्याद थप्नुपर्ने भन्दै हारगुहार गरिरहेको छ ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरुवात गरिएको थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।

लागतको ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी छ । दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट-दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने-बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

नेपालको पूर्वपश्चिम फैलेको ‘महेन्द्र राजमार्ग’ले रुपन्देही, नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) तीन जिल्लालाई छोएको छ । सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको नारायणगढ -बुटवल सडक योजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए ।

सडकको पूर्वी खण्डमा अहिलेसम्म ६५ करोड तीन लाख रुपैयाँ मात्रै खर्च भएको जनाइएको छ । ‘समयमा निर्माणको काम नसक्ने भएपछि निर्माण कम्पनीले म्याद थपको माग गरेको छ’, योजना प्रमुख दिष्टीले भने, ‘म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरेको छ, यसबारे हामी अध्ययन गरिरहेका छौं ।’ एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ-बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने दिष्टीले बताए ।

यो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो । सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जक्शनमा वन्यजन्तु वारपार गर्ने गरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको दिष्टीले जानकारी दिए ।

‘यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ’, दिष्टीले भने, ‘यो क्षेत्र वन्यजन्तु हिँडडुल गर्ने महत्वपूणर् मार्गका रूपमा रहेकाले ओभरपास निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।’ नारायणगढ -बुटवल सडक योजनाको पूर्वी खण्डका आठ ठाउँमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गल महाभारत पर्वत श्रृङ्खलासँग जोडिएका स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ ।

यहाँ उत्तर दक्षिण हुँदै बग्ने पानीको बहाबलाई राजमार्गले काटेको छ । भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् । पछिल्लो समय सहरीकरणसँगै राजमार्गका छेउमै घर बन्दा कल्भर्ट तथा राजकुलो पुरिएका कारण बर्खामा समस्या थपिएको दिष्टीले बताए ।

नारायणगढ-बुटवल सडक खण्ड विस्तारअन्तर्गत पूर्वी खण्डमा १२ ठूला पुल (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) बन्ने छन् । साना पुल सबै नयाँ बन्ने गरी निर्माणको काम अगाडि बढेकामा अहिले १५ वटाको काम भइरहेको छ । ‘ठूला पुलको बेसमेन्टको काम सुरु भएको छ ।

त्यस्तै साना पुलमध्ये सात वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ’, दिष्टीले भने । त्यसैगरी सडकका विभिन्न ठाउँमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेछन् । अहिले एक सयभन्दा बढी ठाउँमा कल्भर्ट निर्माणको काम भइरहेको छ । सडक विस्तारका लागि झन्डै ३५ हजार रुख कटान हुने दिष्टीले बताए ।

सरकारसँग भएको सम्झौतानुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन कर्पोरेशनले आउँदो २०७९ साउन २२ सम्म सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गरिएको एक वर्षसम्म सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनु पर्नेछ । त्यस्तै एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएको अवस्थामा ‘परफमेन्स बेस मेन्टिनेन्स’ (काम गरेअनुसार सम्भार करार) को आधारमा सडक निर्माण गर्नुपर्ने र सडक मर्मतको रकम ठेक्का सम्झौता भएको समयका आधारमा भुक्तानी हुनेछ ।

दोस्रो लहरको कोरोना सङ्क्रमणपछि भने सडक विस्तारको कामले तीव्रता पाएको छ । पछिल्लो तीन महिनाका अवधिमा सडक विस्तारको कामले गति लिएको नवलपरासी बर्दघाट-सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । सडक विस्तारको काम गुणस्तरीय हुने गरी गर्न दबाब दिइएको घिमिरेको भनाइ छ । पहिले काम गरेको अवस्था र अहिले भइरहेको अवस्था देख्दा चाहिँ कामले गति लिनेमा आशावादी हुन सकिने उनले बताए ।

सडक विस्तारका क्रममा पुल बनाउन गरिएको डाइभर्सनलाई निर्माण पक्षले पिच नगरे पनि पानी हालेर धुलो उड्न नदिने वातावरण सिर्जना गर्नुपर्ने भए पनि सडकमा कहिले धेरै पानी हालेर हिलो बनाउने अनि कहिले पानी नै नहालेर बुङबुङ्ती धुलो उडाउने गरेको छ ।

चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीच हरियाली हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । अहिले रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात-सात मिटर हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ ।

बजार क्षेत्रको १७ दशमलव ६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनलाई यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२ दशमलव ७ किमी खण्ड चार लेन तथा दाउन्ने खण्डको चार किमी सडक तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालामा थप एक लेन सडक निर्माण हुनेछ ।

चाइना स्टेट कन्स्ट्रक्शनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाले आउँदो २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको बताए । ‘हामीले सन् २०२४ अगस्टमा काम सक्ने गरी म्याद थपको माग गरेर निवेदन दिएका छौँ’, झाले भने, ‘निवेदन दिइएको एक महिना बढी भयो, परामर्शदाता कम्पनीले हाम्रो निवेदन र कामको मूल्याङ्कन गर्दैछन् ।’ दुई वर्ष म्याद थप भएका अवस्थामा सम्पूणर् काम सकेर सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

‘कति म्याद थप हुन्छ भन्नेबारे अहिले अध्ययन भइरहेको छ भन्ने हामीले बुझेका छौँ’, झाले भने, ‘बीचमा विभिन्न कारणले काममा ढिलाइ भए पनि अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।’ विस्तारको काम भइरहेका सडकमा धुलो उड्न नदिन बाटामा नियमित पानी छर्किने काम भइरहेको झाको भनाइ छ ।

‘अहिले होलीका कारण ट्याङ्कर ड्राइभर बिदामा भएकाले सडकमा पानी छर्किने काम कम भएको हो’, झाले भने, ‘हामी दैनिक बिहान र बेलुका सडकमा पानी छर्केर धुलो नउड्ने वातावरण गराउन लागिपरेका छौं ।’ गर्मी बढेको र सडकमा अत्यधिक सवारीसाधन गुड्ने भएकाले ट्याङ्करबाट पानी हाल्ने बित्तिकै पानी सुकेर धुलो उड्ने गरेको जनाइएको छ ।

 
 
  
 

You may also like