ग्रीन भेन्चर्स लिमिटेडको ३१ करोड २५ लाखको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आज (मंगलबार) देखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

कम्पनीको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म भर्न सकिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूणर् सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनजुमानित लागत १२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ । आयोजनको प्रतिमेगावाट लागत २३ करोड ५ लाख अनुमान गरिएको छ ।

 
 
  
 

You may also like