देशभर गर्मी बढ्दो, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिबार काठमाडौंको उच्चतम तापक्रम ३१.५ डिग्री सेल्सियस पुगेको थियो । सबैभन्दा उच्च तापक्रम भने धरानमा ३६.७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै विराटनगरमा ३६.६ डिग्री सेल्सियस तथा भैरहवामा ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि (सोमबार) भने देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like