ओलीमा दुर्योधनमा भन्दा बढी घमण्ड : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताएका हुन् ।

गौरीशङ्कर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।

उनले भने, ‘आज कोही व्यक्तिको अहङ्कारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अव आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाँज्यौ भने अहङ्कारमा कुनै कमी छैन । तपाईंहरु मूल्याङ्कन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

मन्त्री आलेले आगामी ३ वर्ष भित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए । त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चार मन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उनले बताए । मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउन पर्ने पनि बताए ।

 
 
  
 

You may also like