एमालेसँगको गठबन्धनबारे प्रचण्ड : कांग्रेसले लखेट्यो भने परिस्थिति अर्कै हुन सक्छ

बुटवल । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले धोका दिएमा नेकपा एमालेसँगको गठबन्धनको सम्भावना कायमै रहेको बताएका छन् ।

तर अहिलेकै गठबन्धन दलहरूसँग मिलेर चुनावमा जाने पहिलो प्रयास आफूहरुले गर्ने पनि उनले बताएका छन् । प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गरे ।
एमालेसँगको सम्भावित तालमेलबारे पत्रकारको प्रश्नमा प्रचण्डले तत्काल केपी ओली र उनको पार्टीसँग तालमेल सम्भावना नभएको उल्लेख गरे । एमालेसँगको गठबन्धन कांग्रेसको व्यवहारमा पनि निर्भर हुने उनले बताए ।

‘कांग्रेसका केही नेताहरुले भन्ने गरेका छन नि ! माओवादी केन्द्रसँग कुनै हालतमा तालमेल हुँदैन भनेर। उनीहरुमध्ये अतिवादी ढंगले बोल्ने केही नेता देखिनु भएको छ । हुन त प्रधानमन्त्रीजीले उहाँहरुलाई अब बोल्न बन्द गर पनि भन्नु भएको छ,’ उनले भने ‘कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवा यो गठबन्धनलाई हर हालतमा बचाएर जानुपर्छ भन्नेमा हुनुहुन्छ । त्यही कारण मैले भने जस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।’

आगामी निर्वाचनमा सबै ठाउँमा तालमेल जरुरी नभएको भन्दै प्रचण्डले केही ठाउँमा गठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धा पनि हुने बताए । उनले आफ्नै एजेण्डा र संगठनको बलमा जनताको मन जित्ने र गठबन्धन पनि बचाउने ध्यानमा आफूहरु रहेको पनि बताएका छन् ।

 

 
 
  
 

You may also like