गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताएका छन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा कांग्रेसका प्रभावशाली नेता समेत रहेका गृहमन्त्री खाँणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए । ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ । शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृहमन्त्री खाणले भने ।

उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए । एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए ।

मुलुकको आर्थिक अवस्था चुनौतीपूणर् रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनले बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटाउन विद्युतीय सामग्रीको प्रयोग गर्न आग्रह गरे । बिजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क थियो । एमसीसीबाट आउने अनुदानले नेपाली जनताको गरिबी हटाउन मद्दत गर्ने भनाइ गृहमन्त्री खाँणको थियो ।

 

 
 
  
 

You may also like