निर्वाचनमा काँग्रेसले गठबन्धन गर्नु हुन्न : गगन थापा

काभ्रे । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा बुधबार आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू

निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए ।
‘पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्री समेत रहेका थापाले भने । निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निणर्यअनुसार अघि बढ्ने उहाँले दोहोर्‍याए । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे ।

उनले भने, ‘मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुुँदैन, पाप लाग्छ ।’ निर्वाचनमा काँग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष काँग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेताकार्यकर्तालाई आग्रह गरे । ‘हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौं भनेर योजनासहित जनताको जानुपर्छ’, उनले भने ।

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उनले ठोकुवा गरे । उनले भने, ‘हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।’

 
 
  
 

You may also like