मर्यादित रूपमा होली पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन् ।

उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागु पूर्णिमा मनाइन्छ ।

 

 
 
  
 

You may also like