युक्रेन युद्धको प्रभाव : लाखौं दक्ष रुसी नागरिक देश छाड्दै

युनिमस्को । रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि दुई लाखभन्दा बढी रुसी सर्वसाधारणले देश छाडेको रुसी अर्थविद्हरूको रिपोर्ट छ । यसरी देश छाड्नेहरूमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनल भएको बताइएको छ ।

यही कारणले रुसले आगामी दिनमा ठूलो स्तरको ‘ब्रेनड्रेन’ अर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ । उनीहरू सबै रुसी नीतिसँग असहमत रहेको, तर त्यसको विरोध गरे हिंसात्मक रूपमा दबाउने प्रयास हुने डरका कारण आफूहरू देश छाडेर जान लागेको भिडियो गेम निर्माता इगोर बताउँछन् ।

उनले भने, ‘यहाँ हामीले विरोध जनाउने एउटै तरिका देश छाड्नु हो र आफूसँगै आफ्नो सबै क्षमता र पैसा पनि लैजानु हो ।’ युरोपियन युनियन, अमेरिका, बेलायत, क्यानडालगायत दर्जनौँ देशले रुसी उडानमाथि प्रतिबन्ध लगाएका छन् ।
त्यसैले यतिबेला रुसी नागरिक टर्की, मध्यएसिया, दक्षिण कोकेसस, अर्मेनियालगायत भिसा आवश्यकता नपर्ने/अनुमति प्राप्त देशमा भागिरहेका छन् । हाल २५ हजारभन्दा बढी रुसी नागरिक जर्जिया विमानस्थलमा अवतरण गरिसकेका छन् । तिनैमध्येका एक हुन् येभगेनी ल्यामिन । जसले पुटिनको शाशनविरुद्ध रहन आफूले देश छाड्ने निणर्य गरेको बताए ।

२३ वर्षीय राजनीतिका ग्राजुएट भन्छन्, ‘युक्रेनीलाई साथ दिन म आफूले सक्ने सबै प्रयास गर्नेछु । म यसलाई मेरो जिम्मेवारी ठान्दछु ।’ उनी जस्ता हजारौंले जर्जियाको राजधानीमा सुटकेस लिएर र कतिले आफ्नो घरपालुवा जीव लिएर सडकमा यताउती भौँतारिरहेको बताइएको छ । त्यहाँ सबै प्रमुख सहरमा बस्ने ठाउँ पाउनै कठिन भइसकेको बताइएको छ ।

यता बेलारुसका नागरिक पनि देश छाड्न थालिसकेका छन् । जसकारण इस्तानबुल र अर्मेनियाको राजधानी येरेभानमा अहिले अन्तिम मिनेटको फ्लाइटको शुल्क आकासिएको अवस्था छ ।

आफ्नो देशले धोका दिएको महसुस गरेपछि देश छाड्ने निणर्य गरेकी अन्या भन्छिन्, ‘इस्तानबुलको ‘वान-वे’ फ्लाइटका लागि म र मेरा पतिको एक महिनाको पूरै आम्दानी जोड्दा पनि पुगेन ।’ हाल रुसमा युक्रेनको समर्थन गर्ने जोकोहीलाई पनि २० वर्षसम्मको जेल सजायँ तोकिएको छ । आफू पनि यसको टार्गेट हुने डरले देश छाड्न लागेको उनले बताइन् ।

अर्कोतर्फ धेरै ठाउँमा रुसी या बेलारुसका मानिसलाई सेवा दिन अस्वीकार गर्ने गरिएको पनि पाइएको छ । रुसमा एप्पल-पेको प्रयोग गर्न नपाएकाले उनीहरू विदेश आएको र हालको संकटजन्य अवस्था बिदा मनाउने कुनै समय नभएको भन्दै आफ्ना दुष्ट सरकारको विरोध गर भनेर होटल मालिकले फर्काउने गरेको रिपोर्ट गरिएको छ । बेलारुसको राजधानीमा आइटी विशेषज्ञका रूपमा काम गर्दै आएका क्रिस्टिना र निकिताले आफूहरूलाई अन्टरप्रेन्योरका रूपमा दर्ता गराएका छन् जसले उनीहरूलाई जर्जियन बैंक अकाउन्ट खोल्न अनुमति दिलाउनेछ ।

उनीहरू भन्छन्, ‘हामी हाम्रो सरकारको विपक्षमा छौँ त्यसैकारण देश छाडेर भागेका हौँ । हामी केबल सुरक्षित रहन चाहन्छौँ । तर, यहाँ आएर पनि राष्ट्रियताका कारण हामीसँग दुव्र्यवहार भइराखेको छ । त्यसैले हामीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । मानिसले म कहाँबाट आएको भनेर सोध्दा मलाई एकदमै असहज महसुस हुन्छ ।’

युद्ध सुरु भएदेखि जर्जियालाई युक्रेनको सबैभन्दा ठूलो समर्थक मानिएको छ । हालैको एक सर्वेक्षणमा त्यहाँका ८७ प्रतिशत जनताले युक्रेन युद्धलाई आफ्नै युद्ध समान मानिरहेको पाइएको छ । रुसले जर्जियामाथि आक्रमण गरेको १४ वर्ष पनि पूरा नहुँदै धेरैले यो विषयमा एकदम असहज महसुस गर्ने गरेको उनीहरू बताउँछन् ।

यसमा पुटिनलाई विदेशिने रुसी नागरिकलाई सुरक्षाको आवश्यकता पर्ने भन्दै आफ्नो फौज पठाउने बाहना मिल्न सक्नेबारे धेरैलाई चिन्ता छ । २००८ मा जर्जियाको असेटिया क्षेत्रमा पुटिनले यसैगरी कब्जाको प्रयास गरेका थिए । अहिलेसम्म पनि जर्जियन भूभागको २० प्रतिशत रुसी सेनाकै अधिनमा छ । तर, प्राविधिक अन्टरप्रेन्योर लेभ कालासिनिकोभका अनुसार यसले अन्ततः जर्जियालाई धेरै फाइदा हुनेछ । किनकि यो आधुनिक रुसी इतिहासकै सबैभन्दा ठूलो ‘ब्रेनड्रेन’ हुनेछ ।

उनले टेलिग्राम मेसेजिङ एपमा आफू जस्तै प्राविधिक विज्ञको एक समूह बनाएका छन् । हाल सो समूहमा एक सय जना छन् । तर, अहिले चार हजार बढी सदस्य पुगिसकेको उनी बताउँछन् । यसमा उनीहरूले बस्ने ठाउँ कहाँ खोज्ने, बैंक अकाउन्ट कसरी खोल्ने अनि सार्वजानिकस्थलमा रुसी भाषा बोल्नु कत्तिको सुरक्षित हुनेछ भन्नेबारे छलफल गर्ने गरेको उनले बताए ।

जस्तैः यभेजेनी लायमिनले जर्जियन भाषा पढ्न सुरु गरिसकेका छन् । उनी भन्छन्, ‘म पुटिनको विरुद्धमा छु । म युद्धको विरुद्धमा छु । मैले अझैसम्म पनि रुसी बैंक अकाउन्टबाट आफ्नो पैसा निकाल्न सकेको छैन । तर, यो युक्रेनीले भोग्नुपरेको संकटका अगाडि केही पनि होइन ।’ बीबीसीबाट

 
 
  
 

You may also like