तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

तिलोत्तमाले गत वर्ष शहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ । तिलोत्तमासँगै अन्य विधामा निलकण्ठ, वालिङ, हरिवन, पुतलीबजार, ईलाम र राप्ती नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार-२०७८ स्वरुप कदर पत्र प्रदान गरे । सो अवसरमा तिलोत्तमा नगरप्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारी लगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए ।
उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताए ।

 
 
  
 

You may also like