युक्रेनी शरणार्थीलाई घरमा राखे बापत बेलायती नागरिकले मासिक ३५० पाउन्ड पाउने

काठमाडौं । युक्रेनी शरणार्थीका लागि आफ्नो घरको ढोका खोल्ने बेलायती नागरिकले सरकारबाट मासिक ३५० पाउन्ड बराबरको रकमको पाउने भएका छन् ।
बेलायत सरकारको ‘होम्स फर युक्रेन’ भन्ने नीतिअन्र्तगत बेलायती नागरिकलाई आफ्नो घरका खाली कोठा या कोही नबस्ने घरमा युक्रेनीलाई ६ महिनाका लागि शरण दिन अपिल गरिएको थियो । बेलायती सचिव माइकेल गोभले आवश्यकता परेकालाई सहयोग गर्ने राष्ट्रिय प्रयासमा नागरिकलाई सहभागी हुन आग्रह गरेका हुन् ।

यो अभियान सोमबारदेखि कार्यन्वयन हुनेछ । जसमा ‘स्पोन्सर’ले कुनै पनि युक्रेनी नागरिक वा उसको परिवारलाई आफ्नो घरमा वा छुट्टै कुनै खाली सम्पत्तिमा ६ महिनासम्म बस्न दिनेछन् । स्पोन्सरले पहिले नै उनीलाई चिनेको हुनुपर्छ भन्ने छैन । कसैले सामाजिक सञ्जालमार्फत मद्दत मागिरहेको व्यक्ति फेला पारेमा उसलाई शरण दिन सक्नेछन् । यसका लागि अनलाइन आवेदन उपलब्ध हुनेछ । जसमा स्पोन्सर र शरणार्थी दुवैले सरकारी प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ ।

प्रत्येक स्पोन्सरले ‘धन्यवाद’ स्वरूप हरेक माहिना सरकारबाट ३५० पाउन्ड पाउने छन् । सर्वसाधारणका साथै विभिन्न च्यारिटी र चर्चले पनि यसरी सहयोग गर्न सक्ने छन् ।

यो नीति घोषणा गर्दै गोभले भनेका छन्, ‘युक्रेनको संकटले पूरै दुनियाँलाई झट्का दिएको छ । जहाँ हजारौं निर्दोष मानिस आफ्नो घरबार छाडेर भाग्न बाध्य भएका छन् । त्यसैले उनीहरूको सबैभन्दा पीडादायी दिनमा बेलायत सहयोगका लागि खडा रहने प्रतिबद्धता जनाउँछ । यसमा बेलायती जनताले पनि ती मानिसलाई छिटोभन्दा छिटो सुरक्षित ठाउँमा पुर्‍याउनुपर्ने आवश्यकता बुझ्न जरुरी छ ।’

हालसम्म केवल एक हजार शरणार्थीले मात्र बेलायतको भिसा पाएका छन् । जसको बेलायती नागरिकसँग पारिवारिक सम्बन्ध छ । युरोपेली युनियनले यसअघि युक्रेनीलाई बिनाभिसा तीन वर्षसम्म बस्न अनुमति दिने जनाएको थियो ।

शरणार्थी निकायले कुन स्तरसम्म युक्रेनी शरणार्थीलाई सहयोग गर्न सकिन्छ भन्नेबारे चिन्ता जनाइरहेका छन् । हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छाडिसकेका छन् । संयुक्त शरणार्थी संघले यसलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा तीव्र शरणार्थी संकट भएको जनाएको छ । बीबीसीबाट

 
 
  
 

You may also like