लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा निशुल्क स्त्री तथा प्रसुति रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल देउरालीले तिलोत्तमा नगरपालिका वडा नंं. ६ को सहयोगमा एक दिने स्वास्थ्य शिविर गरेको हो ।

शिविर उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाले वडा वडामा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने नीति लिएको उल्लेख गरिन् । उनले बेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताइन् ।
लायन्स क्लब इन्टरनेसनल ३२५ पी का द्वितीय भाइस गभर्नर पुरुषोत्तमभक्त प्रधानाङगले लायन्स क्लबहरुले समुदायको माग र आवश्यकता अनुसार सामाजिक र मानवीय सेवाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महिलाहरुमा प्रमुख समस्याको रुपमा रहेको पाठेघरको मुख र स्तन क्यान्सर पत्ता लगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । शिविर सञ्चालन गर्न वडा कार्यालयले ३ लाख रुपैयां वजेट दिएको र क्लबले डेढ लाख रुपैयां बराबरको औषधि सहयोग गरेको अध्यक्ष पौडेलले बताए । महिला संगै बालबालिकाको पनि स्वास्थ्य परीक्षण गरिएको शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका डा.वर्षा पौडेल र किरण सुवेदी तथा सिद्धार्थ बाल तथा महिला अस्पतालका डा. राजेन्द्र बस्यालले चेकजांच,भिडियो एक्सरे गरी आवश्यक परामर्श दिएका थिए । शिविरमा करिब दुईसय जनाले स्वास्थ्य चेकजांच गरेका कार्यक्रम संयोजक विष्णु अधिकारीले बताए ।

कार्यक्रममा वडा अध्यक्ष सुखदेव न्यौपाने,क्लबका प्रथम उपाध्यक्ष रमेश पाण्डे,सचिव कृष्णप्रसाद भण्डारी लगायतले बोल्दै शिविरबाट सर्वधारणले लाभ लिएको धारणा राखेका थिए । कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ बी २ नेपालका गभर्नर रामप्रसाद भट्टले प्रदान गरेका करिब ५ लाख मूल्यको दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन आनन्दवन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

 
 
  
 

You may also like