रक्सौल-काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङ बन्ने

काठमाडौँ । प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ। रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ ।

“सो रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ”, रेल विभागका प्रवक्ता अमन चित्रकारले भने । त्यसैगरी ३५ वटा पुल निर्माणको समेत प्रस्ताव गरिएको छ । सो रेलमार्गका लागि नेपाल सरकारको समन्वयमा कोंकण रेलवे कर्पोरेसन लिमिटेडले करिब एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो ।

प्रवक्ता चित्रकारका अनुसार वीरगन्जस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौँको चोभारमा प्रस्तावित सुक्खा बन्दरगाहसम्म कुल १३५ किलोमिटर प्रस्ताव गरिएकोे हो । सो अन्तरदेशीय रेलमार्ग ब्रोडगेज ढाँचामा निर्माण गर्ने गरी प्रस्ताव प्रतिवेदनमा गरिएको छ । यसअघि भने भारतले १९० र १३५ किलोमिटर दूरी पर्ने गरी सो रेलमार्ग निर्माणको प्रस्ताव नेपालसामु राखेको थियो ।

प्रस्तावित यो रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन गत वर्षको भदौ १५ गते नेपाल र भारतबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधान मन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

 
 
  
 

You may also like