स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

काठमाठौं । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ । २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन ।

तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पनि आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा मागेको छ । अर्थ मन्त्रालयले आयोगलाई दिन ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

सुरक्षा निकायहरूले सुरुमा २० अर्ब रुपैयाँभन्दा बढी बजेट मागेकोमा अहिले १६ अर्ब चाहिने बताउँदै आएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचनमा जोडिन्छन् । यीमध्ये सबैभन्दा बढी बजेट नेपाल प्रहरीले मागेको हो ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले निर्वाचनमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको बजेट धेरै हुनु स्वाभाविक भएको बताए । ‘एक लाख म्यादी प्रहरीका लागि मात्र ४ अर्ब रुपैयाँ लाग्छ,’ प्रवक्ता केसीले भने । सुरक्षा निकायले १६ अर्ब रुपैयाँ माग गरे पनि कति बजेट दिने भन्नेमा अर्थ मन्त्रालय अझै टुङ्गोमा पुगेको छैन । नागरिक दैनिकबाट

 
 
  
 

You may also like