अस्पतालभित्र पसेको भालु चार दिनपछि निकालियो

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा पसेको हिमाली कालो भालुलाई चार दिनपछि डिभिजन वन कार्यालयमा सारिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आइतबार भालुलाई लठ्याएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याएको हो ।

तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए । हिमालयन कालो भालु भएको जैविक विविधता संरक्षण केन्द्रका टोलीले दाबी गरेको छ । प्रविधिकका अनुसार वयस्क सो भालु करिब ७० किलोग्राम तौल र ५ फिट लामो छ ।

बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार र प्रस्तुतिका आधारमा थप निणर्य लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ ।

गत बिहीबार बेलुकी अचानक अस्पताल परिसर पसेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुनेका थिए । डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाई भालुलाई सुरक्षित ढङ्गले बासस्थानमा फर्काउने प्रयास सुरु गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

 
 
  
 

You may also like