घाइते युक्रेनी शिक्षिका युद्धको चर्चित तस्बिर कसरी बनिन् ?

by समतल अनलाइन

किभ । ओलेना कुरिलोको रक्तताम्य तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक बनेको छ । शिक्षिका कुरिलोले आफ्नो भयावह भोगाइ सम्झिँदै भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’

रुसले युक्रेनमाथि आक्रमण गरेयता उनको रगतको टाटा जमेको तथा ब्यान्डेज गरिएको अनुहार आतंकको पर्याय बनेको छ । पूर्वी युक्रेनको खार्किभस्थित आफ्नो घरमा रुसी फौजले बम प्रहार गर्दा ५२ वर्षीया उनी यसरी नराम्री घाइते भएकी हुन् । आक्रमणमा उनको घर पूणर् रूपमा ध्वस्त भएको छ ।

उनको तस्बिर थुप्रै अखबारमा पहिलो पृष्ठमा छापिएको छ । स्काई न्युजले पनि ‘उनी भाग्यले बाँचेकी’ भनेर लेखेको छ । बिहीबारको हमलामा घाइते भएकी उनी अस्पतालमा उपचार गरेर फर्कने क्रममा आफ्नो ध्वस्त घरसामु उभिएर न्युज च्यानललाई भन्दै थिइन्, ‘भगवानका कृपाले बाँचेछु । जिन्दगीमा यस्तो पनि घटना घट्छ होला भनेर कहिल्यै सोचेकै थिइनँ । मैले सकेसम्म र मेरो बलबुताले भ्याएसम्म युक्रेनका लागि जे पनि गर्छु । म सदा सर्वदा आफ्नो मातृभूमिको पक्षमा मात्रै उभिनेछु ।’ याहुन्युजबाट

 
 
  
 

You may also like