कपडा सिलाएर मासिक ५० हजार आम्दानी गर्दै पाँच जनालाई रोजगार दिदै : सन्तोष

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । सैनामैनाको कलौनीमा सटर भाडामा लिएर कपडा सिलाई कटाई गर्दै आएका सन्तोष परियारले माषिक पचास हजार आम्दानी गर्दै आएका छन् । बैदेशिक रोजगारमा जानु भन्दा आफ्नै देशमा घर परिवारसँग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सन्तोष परियार हाल “सन्तोष टेलर्स सटिङ्ग एण्ड सुटिङ्ग” पसल सञ्चालन गरि सिलाई कटाईमा ब्यस्त रहेका छन् ।

वि.स २०५६ सालमा बुटवलमा रहेको जनसेवा टेलर्स बाट कपडा सिलाई कटाईको क्षेत्रमा लागेका सन्तोषले हाल सैनामैनामा आफ्नै टेलरिङ्ग पसल सञ्चालन गर्दै आफ्नो चार जनाको परिवार सजिलोसँग पालेका छन् । उनले टेलरिङ्ग ब्यबसायबाट आफ्नो परिवार पाल्नुका साथै अन्य थप पाँच जनालाई रोजगारीको वातावरण समेत सिर्जना गरिदिएका छन् ।

 

वि.स २०६६ सालमा सन्तोष र उनकी श्रीमती बिमला परियारले सिलाई कटाई ब्यबसाय सुरु गरेका थिए । ब्यबसायको सुरुवाती चरणमा दुईवटा कपडा सिलाउने मेसिन र एक ईन्टरलक मेसिन लिएर सामान्य कपडा सिलाईको ब्यबसाय सञ्चालन गरेका उनले हाल आफू पुर्ण रुपमा सन्तुष्ट रहेको बताए । चार जनाको सानो परिवार रहेको उनको परिवारमा सन्तोष कि आमा , श्रीमती र एक छोरी रहेका छन् ।

श्रीमान् श्रीमती मिलेर सञ्चालन गरेको सिलाई ब्यबसाय सञ्चालन देखि हाल सम्म आईपुग्दा पाँच जना दक्ष ब्यबसायी उत्पादन गरेको बताउँदै सञ्चालक सन्तोषले कुनै पनि काममा पारिवारिक साथ भयो भने जतिसुकै कठिन समस्या समाधान गर्न तथा सफलता प्राप्त गर्न सहज हुने बताए ।

स्वदेशमा बसेर स्वरोजगार गरि आत्मनिर्भर बन्नुपर्छ भन्ने मानसिकता राख्ने सन्तोषले बिदेशमा पसिना बगाईरहेका युवालाई आफ्नै देश फर्कन आग्रह गर्दै स्वदेशमै केही सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सन्देश दिएका छन् । उनले स्वदेशमा केही गर्न चाहने युवालाई सरकार तथा राज्यले सहयोग गर्नुपर्ने बताउँदै बिशेषतःघरेलु तथा साना ब्यबसाय सञ्चालन गर्न अनुदानको व्यवस्था मिलाउनुपर्ने कुरामा जोड दिए । हाल मासिक ५ हजार सटर भाडा तिर्दै आएका सन्तोषको टेलरिङ्ग पसलमा लेडिज तथा जेन्स सम्बन्धि सम्पूर्ण कपडा पाउने व्यवस्थाका साथै सम्पूर्ण कपडाको सिलाईको पनि व्यवस्था रहेको छ ।

 
 
  
 

You may also like