नेकपा विदेश विभागको निष्कर्ष– चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । नेकपाको विदेश विभागको मंगलबार बसेको बैठकले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बारेमा समीक्षा गरेको हो ।

बैठकले भ्रमण फलदायी भएको र दीर्घकालीन महत्व र नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालिएको छ । विदेश विभागका प्रमुख माधवकुमार नेपालले राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रियय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्यालले भ्रमणका विविध पाटा बारे आफ्नो धारणा र विश्लेषण प्रस्तुत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए ।

शनिवार नेपाल आएका शीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरेका थिए ।

सीको नेपाल भ्रमणका समयमा नेपाल र चीनबीच विभिन्न २० बुँदे सहमतिसमेत भएको थियो ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी थिइन् । राजकीय भ्रमण सकाएर सी शनिवार चीन प्रस्थान गरेका थिए ।

 
 
  
 

You may also like