सिद्धबाबा परिषर भिक्षा निषेधित क्षेत्र घोषणा

by समतल अनलाइन

बुटवल । बुटवल र पाल्पाको सिद्धबाबा मन्दिर परिषरलाई भिक्षा निषेधित क्षेत्र घोषणा गरिएको छ । सोमबार विहान पाल्पाको सिद्धबाबामा आयोजित एक कार्यक्रममा मन्दिर परिषरलाई भिक्षा निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्रको घोषणा गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश घोषणा गर्ने पाँच नम्बर प्रदेश सरकारको निती बमोजिम अभियानको सुरुवात गरिएको बताउनुभयो । सुरुमा मठमन्दिरमा बसेर भिक्षा माग्नेहरुको व्यवस्थापन गर्ने उहाँको भनाइ छ ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मन्दिरमा बस्ने असाहयहरुको संरक्षण गर्न आश्रम संधै प्रतिबद्ध रहेको बताउनुयभो । उहाँले तिहारपछि सिंगो रुपन्देहीलाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सिद्धबाबा मन्दिर विकास समिति पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले सिद्धबाबा मन्दिर परिषरमा सन्त महन्त र असाहय मात्र नभइ भिक्षा लिएर बजारमा गइ मदिरा सेवन गर्नेहरु समेत रहेको भन्दै यो घोषणाले मन्दिर व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम लगत्तै सिद्धबाबा परिसरमा भिक्षा मागेर बस्ने १८ जनालाई मानव सेवा आश्रममा लगेर राखिएको छ ।

मानव सेवा आश्रमको सहकार्यमा पाँच नम्बर प्रदेशलाई सडक मानव मुक्त बनाउन सामाजिक विकास मन्त्रालयले बुटवलका लागि २५ लाख र नेपालगञ्जको लागि २५ लाख गरी ५० लाख रुपैया विनियोजन गरेको छ ।

 
 
  
 

You may also like